Jump to content

Page:Ek chihan.pdf/27

From Nepali Proofreaders
Revision as of 21:58, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "नौ चलनअनुसार भन्दा पनि बाबुको श्रद्धामा सबै छोराछोरीहरूले भोकले उथलपुथल मच्चाइरहे पनि भक्तिपूर्वक त्यस दिन छाक छोडेका थिए । लतमायाले त झन् पानीसम्म पनि मुखमा हालिनन् । तर नखानमा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

नौ चलनअनुसार भन्दा पनि बाबुको श्रद्धामा सबै छोराछोरीहरूले भोकले उथलपुथल मच्चाइरहे पनि भक्तिपूर्वक त्यस दिन छाक छोडेका थिए । लतमायाले त झन् पानीसम्म पनि मुखमा हालिनन् । तर नखानमा भक्ति मात्र होइन, खानमा इच्छा पनि कसैको थिएन ।

भोलिपल्ट बिहानैदेखि बिचाः आउने मानिसहरूको ताँती लाग्न थाल्यो । वास्तवमा आफू दुर्जन भएर पनि सितिमिति अर्काको नजरमा परी दुर्जन प्रमाणित गराउन कसैलाई पनि मन्जुर हुँदैन, यो मानिसहरूको स्वभाव हो । त्यसैले ‘सबै सबैलाई असल लाग्न सक्तैन’ भनेअनुसार अष्टनारान असल नलाग्ने टोलका एकाध मानिसहरूसमेत उनको निधनमा शोक र सहानुभूति प्रकट गर्न आएका थिए । लोग्नेमानिस नभएका र मानिसअनुकूल नमिलेका घरका स्वास्नीमानिसहरू पनि समवेदना प्रकट गर्न आएका थिए । समवेदना प्रकट गरी सान्त्वना दिन आउने मानिस पाएर अष्टनारानको परिवारलाई धैर्य गर्ने बल पनि मिल्यो ।

अष्टनारानको टोलमा सबभन्दा ठुला, भलादमी, पढेलेखेका र इज्जतदार मानिस डाक्टर गोदत्तप्रसाद हुन् । उनी पनि अष्टनारानको निधन भएको भोलिपल्ट बिहान साढे आठ बजेतिर समवेदना प्रकट गर्न आइपुगे । अरू सबैले मौन रूपमा हार्दिक समवेदना मात्र गरेर सान्त्वना दिए तर डाक्टर गोदत्तप्रसाद पढेलेखेका मानिस हुनाले हार्दिक सहानुभूतिका साथसाथै अनेक