१९
हवाको नाघी त्यो खटन बँटवारा हठ गरी
जथाभावी डोकाहरुसहित जाबीतक भरी।
बटुल्थे लोभीले जब अधिक खाना अनि पछि
म भन्थें त्यो देखी मनमन घिनाईकन छिछिः।।
२०
जती जो चाहिन्थ्यो जठरहरिको खातिर उति
लिये, खाये पुग्थ्यो, मुफत किन त्यो सञ्चय अति
त्यसैले गर्दामा कति गरिबको भाग हरियो
विधाताको खाताउपर सब त्यो पाप दरियो।।
२१
कठै रित्तो पारीकन सब सदावर्तभवन
हरी सारा साजा पथिकजनको जीवनधन।
लगी त्यस्तो चालासित घर भरी सञ्चय गरी
कुहाई थन्क्याई कसरि शुभ होला? हरि हरि।।
२२
सबै खाये पक्का पिर अपचको पर्दछ कडा
नखाये अर्कैले हरण अथवा गर्छ झगडा।
कठै बाधैबाधा उभयतिर देखिन्छ त पनि
भुलेकै छन् अन्धा मनुजहरु मौरीमय बनी।।
२३
वृथा खाना भन्दा बढि बढि सदा सञ्चय गरी
धनी बन्छौं भन्दै कृपणविधिमा लम्पट परी।
कठै अन्धा लोभी मनुज फिर मौरी दुइ थरी
अशान्तिज्वालामा मुफत किन जल्छन्? हरि हरि।।
२४
जमाई देखाई महजडित चाका र चकला
अभागी मौरीले मनुजहरुमा सञ्चयकला।
शिकायो होला वा मनुजपशुको नक्कल गरी
बन्यो होला दुःखी मुफत मधुमक्खी जुनिभरि।।
Page:Tarun tapasi.pdf/71
Appearance
This page has not been proofread
