२१
अँध्यारा पैसाको जति जति बढ्यो सञ्चयकला
जगत्मा निर्धाको उति उति कठै शुक्दछ गला।
बिकून् छोराछोरी, स्वयमपि बनोस् दास बिचरो
कठै कल्ले देख्ने उस अबुझको दर्द गहिरो?।।
२२
विधाताले कैले? किन? कसरि? कस्तो कुदिनमा?
विषालू पैसाको अभिरुचि वृथा मर्त्यमनमा।
भर्यो होला कोलाहल कलहको जागृति गरी
बन्यो जस्ले गर्दा मनुज बिचरो दानव सरी।।
२३
बिरामी लोभिन्छन् कुमतिवश जस्तो कुपथमा
दुरुस्तै त्यै ढाँचासित मनुज ती भ्रान्तिपथमा।
भुलेको देख्नाले हरबखत पैसाकन जपी
कठै आँशू मेरा पनि चुहुन थाले तपतपी।।
२४
मुटूमा पैसाको प्रबल मुहुनीमन्त्र ननिको
गड्यो जस्को, उस्को सनक अति सन्कन्छ मनको।
न ता दायाँबायाँ, न तलतिर त्यो हेर्दछ रति
कठै त्यो के देख्थ्यो उस कलुषको दुष्परिणति?।।
२५
कुनै भोका शोकाऽऽकुल विकल काकाकुल सरी
कुनै पोकैपोका लिइ सयल गर्ने जुनिभरी।
अहो कत्रो पैसाजनित जनमा यो विषमता?
यसैमा टिक्ला के जुग जुग कठै यो मनुजता?।।
२६
बली, बाठा, टाठा, मनुजहरु चातुर्यदहमा
जमाई अर्काका गरम पसिना भित्रि तहमा।
डुबी गोता लिन्छन् अबुझहरु गोताकन खपी
क्षुधाको ज्वालामा जनमभर जल्छन् धपधपी।।
Page:Tarun tapasi.pdf/78
Appearance
This page has not been proofread
