२७
अँध्यारा पैसाको अति जटिल जालोबिच परी
झिँगा झैं संसारी मनुज बिचरा भुन्भुन गरी।
मडारिन्छन्, रुन्छन् हरसमय गर्छन् छटपटी
कठै के फुत्कन्थे तर सब तिनी प्राण नछुटी?।।
२८
विषालू पैसाको विकट बढदो व्याधि सरुवा
छिटो सर्दासर्दै भुवनभर सल्कन्छ मरुवा।
बगैंचा ब्रह्माको सब सहज खङ्गार नगरी
कठै तेसै जाला कठिनतम यो व्याधि कसरी?।।
२९
कडा जोशी, दोषी, तमक, हठ वा गर्वगुरुता
अहन्ताको आडम्बर, भडकिलो, दम्भ, कटुता।
सबै हो यै पैसामय जहरको ग्याँस ननिको
हर्यो जस्ले सारै सकल सहसा मर्त्यजुनिको।।
३०
सदा यै पैसाले कठिन हिमले पङ्कज सरी
थिची दैवी सम्पद् गुणमधुरिमा सोत्तर गरी।
लतारेको देख्दा अब भुवन भो सङ्कटमय
भनी बाधा मानी हरबखत यो रुन्छ हृदय।।
३१
भनून् अन्धा लोभी मनुजहरु पैसाकन धन
म सम्झन्छू शा(सा)पै कुटिल विधिको त्यो सनिधन।
कठै जस्का लागी अबुझ दुनियाँ लाखन थरी
विपद् भोगी झुक्छन् हल न चल भै जीवनभरी।।
३२
इनै पैसा उम्ली तमकसित शस्त्राऽस्त्रहरुको
झिकी तीखो जिभ्रो जुग जुग कठै जीवहरुको।
गला काटी तातो रगतकन चाटी लपलपी
अकालैमा कालाऽनल विकट फुक्छन् धपधपी।।
Page:Tarun tapasi.pdf/79
Appearance
This page has not been proofread
