This page has not been proofread
नवम विश्राम
१
अलि बेर अडी चल्यो जब
मुनिको मञ्जुल ओष्ठपल्लव।
अनि वाक्यसुधा बह्यो उही
अथवा जीवनको फुक्यो बही।।
२
ठुला साना लाखौं पथिकहरूका लाखन थरी
चमत्कारी चाला हरबखत आलोकन गरी।
बसेकै वेलामा शिशिर ऋतुको रात्रिबिचमा
लड्यो भोको यौटा अतिथिजन आई नगिचमा।।
३
न त्यस्ले क्यै खायो, न त पिउन पायो द्रवहरू
न केही बिच्छ्यायो, न त धुनि जगायो हुरुहुरु।
घुँडो मण्टो जोडी विधि अधम हो निर्दय भनी
बितायो वा काट्यो कटकट किटी दन्त रजनी।।
४
निशाको त्यो कालो तम सकल पोको परि परी
उही निर्धो भोको विकल बटुवामा घर गरी।
मडारिन्थ्यो खेल्थ्यो पल पल उकेल्थ्यो विकलता
थियो उस्को लेखा शरण मृतिमूर्छा, शिथिलता।।
५
कठै चिल्थो कन्था फगत लिपिटो मात्र हरमा
कलेटीको खस्रो अति मलिन रेखा अधरमा।
गडेका खोपा झैं नयनयुग, आँशू गहभरी
बगेको देखिन्थ्यो, कर चरण काम्थे थरथरी।।