१५
घडी बग्थिन् गङ्गा परम शुचिता सेचन गरी
घडी आईपुग्थे हरकिसिमका देवनगरी।
घडी नीलो ताराजडित गगनै झवास्स छिनमा
स्वयं आई पस्थ्यो हृदयमय सानू सदनमा।।
१६
घडी देखा पर्थ्यो चमचम गरी दीर्घ बिजुली
घडी आत्मज्ञानी पुरुष अथवा सिद्ध सकली।
घडी पानी पानी सबतिर छताछुल्ल धरणी
घडी आगो बल्थ्यो धपधप, घडी वासरमणि।।
१७
न मिल्थ्यो त्यो शिक्षा सितिमिति कुनै शास्त्रहरुमा
न वा ज्ञानी ध्यानी धरणितलका सिद्धहरुमा।
लिँदा एकै गोता निमिषभर चुर्लुम्म जसमा
रसीलो निस्कन्थ्यो पल पल चमत्कारसुषमा।।
१८
अहो यस्तै यस्ता अघट घटनारूप चटक
मजा मानी भित्रै अनुभव गरी धेर पटक।
पछी सुस्तै मेरो चपल मन त्यो कौतुक भुली
झुली लिन्थ्यो निद्रामय अतुल शय्या मखमली।।
१९
उषाले यस्तैमा पवनमय पङ्खा सिरिसिरी
ममाथी हम्कन्थी, तर मकन लाग्थ्यो किरिकिरी।
म झोक्रिन्थें, भन्थें किन सब टुट्यो कौतुक, भनी
कडा रातो देख्थें गगनगुरुजीको मुख पनि।।
२०
बित्यो रात्री सारा, तम पर सर्यो, सर्र रविको
प्रभा झुल्क्यो, टल्क्यो टलक कलनातुल्य कविको।
बनी अर्कै निस्किन् प्रकृतिजननी, विश्वरभरमा
रमायिन् चौतर्फी विकसितमुखी जागृतिरमा।।
Page:Tarun tapasi.pdf/52
Appearance
This page has not been proofread
