Jump to content

Page:Tarun tapasi.pdf/47

From Nepali Proofreaders
Revision as of 19:57, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|२४}} दया हो पृथ्वीको अति चहकिलो पारसमणि ::दया नै हो कालो भवजलधिको मुख्य तरणी। दया त्यस्तो त्यागी मनुज किन हिंसातिर झुक्यौ? ::म मर्ने हूँ, मर्छू तर तिमि नराम्रोसित...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

२४
दया हो पृथ्वीको अति चहकिलो पारसमणि
दया नै हो कालो भवजलधिको मुख्य तरणी।
दया त्यस्तो त्यागी मनुज किन हिंसातिर झुक्यौ?
म मर्ने हूँ, मर्छू तर तिमि नराम्रोसित चुक्यौ।।

२५
म भन्छू हे अन्धो मनुज तिमि जस्ता मनुजको
अगाडी हत्यारो प्रकृति हलुकै हो दनुजको।
यही तिम्रो पापी प्रकृति सब तिम्रा घरघरै
घुसी लाखौं लाखौं पुरुषकन पार्ला कि ठहरै?।।

२६
मट्याङ्ग्रो माटाको जुन कुरुचिले आज भवमा
बन्यो, सोही पापी कुरुचि पछि सल्केर सबमा।
कडा गोला गोली कठिन चिजका लाखन थरी
खडा भै पार्नेछन् सकल धरणीमा थरहरी।।

२७
यही तिम्रो हिंसा, छलकपट ज्यादा प्रबल भै
सिधासादा, निर्धा अबुझ थिचिंदा आखिर सबै।
अशान्तिज्वाला जो मुलुकभर बल्ला दनदनी
यसैमा पर्नेछौ जडमति म जस्तै तिमि पनि।।

२८
चराको झैं तिम्रो गगनतलमा सर्र उडने
कुनै वेला आयो नियतिगतिले तागत भने।
यही हत्याकारी कुरुचिवश भै पागल सरी
अवश्यै पार्नेछौ सकल पृथिवी प्रेतनगरी।।

२९
बढ्यो स्याँ स्याँ, ज्यादा अभयसित जो अन्तिम कुरा
म भन्छू यो राम्रो किसिमसित सम्झे तिमि पुरा।
अहिंसाको गङ्गाजल विन सबै उन्नतिकला
खरानी भै तिम्रो मनुज नगरोस् दीर्घ सुकला।।