१८
कहाँ त्यो सुत्केरी प्रणयपुतली त्यो गुँड कहाँ
कहाँ प्यारा साना शिशुहरु कठै त्यो सुख कहाँ।
कहाँ प्रेमी साथी स्मरण पनि हा कष्टमय भो
कठै मेरा लेखा अब सब कुराको प्रलय भो।।
१९
न चाँडो जाने भो सहजसित यो प्राणपवन
न शक्छू यो बाधा सहन अथवा शान्त रहन।
न थामिन्छन् आँशू न त छ अरु क्यै जीवनगति
कठै कस्तो पापी कति कुपित यो क्रूर नियति।।
२०
सिला खोजी चर्ने सफरसुख गर्ने गगनमा,
ठहर्ने शाखामा, मधुर सुर भर्ने पवनमा।
सिधासादा, निर्धा विहगकन मार्ने नियतिले
दियेकी हुन् के त्यो करयुगल माता प्रकृतिले?।।
२१
नजानी आनन्दी मनुजकुलको उन्नतिकला
म जस्ता निर्धाको बलसित अँठ्याईकन गला।
वृथा त्यस्तो चोखो करयुगल त्यो दूषित गर्यौ
धरित्रीमा कालो जहर अथवा पातक छर्यौ।।
२२
दया राखी हाम्रा उपर विधिले कार्यकुशल
दिँदो हो ता तिम्रै सदृश बलियो बाहुयुगल।
पुगी टाढा टाढा फलफुल टिपी लाखन थरी
भरीदिन्थ्यौं ल्याई प्रणयसित तिम्रा घरभरी।।
२३
चुचो साह्रै सानू धन फगत हाम्रो छ त पनि
कुनै देख्नासाथै थकित जन भोको रुखमनि।
चुचैले पाकेको फलफुल चलाई बल गरी
खसाल्थ्यौं, त्यो खाओस् भनिकन दयाको वश परी।।
Page:Tarun tapasi.pdf/46
Appearance
This page has not been proofread
