This page has not been proofread
अथ शिशिर-विचार हेमन्तको थियो जस्तो उस्तै शिशिरको छवि। दुर्लभै हुन्छ दोटाको भेद छुट्ट्याउने कवि।। १ उही ठण्डी, उही हुस्सू, हिमवर्षा उही सब। अहो शिशिरले सारा हर्यो हेमन्तवैभव।। २ हेमन्तको म हूँ भाइ, हुन्छु दाइबराबर। भन्ने शिशिरको भित्र पक्का छ मनमा सुर।। ३ थपी हेमन्तको भन्दा बढता वातसङ्कट। सेक्यो शिशिरले साह्रै लोकका दुइ कञ्चट।। ४ दिनहुँ तल धर्कन्छ चुलियेको हिमाऽऽचल। बिहोशी ऐशमा मस्त राष्ट्र झैं मदसङ्कुल।। ५ सारा शरीरमा शीत फैलिँदामा पनी सब। अहो कम्पज्वराऽऽक्रान्त रोगी झैं काँप्तछन् अब।। ६