This page has not been proofread
अथ हेमन्त-विचार गर्दागर्दै खुशीसाथ शरत्सौन्दर्यवर्णन। हेमन्तले खिचीहाल्यो कविको लेखनीकन।। १ भारी बोकेर जाडाको टाढाको बटुवासरी। हिमदन्तुर हेमन्त आयो मैलोपना धरी।। २ मैलो दुर्गुणको थैलो त्यो हेमन्त भयङ्कर। देखेर डरले भागी शरद्बाला दिगन्तर।। ३ हेमन्त डाकिनीतुल्य लोक ठाडै कठ्याउँछ। झल्कने हिमदाह्राले जो जो पायो अँठ्याउँछ।। ४ घसी भस्म तुषाराको कुइराको लटा धरी। धुम्मियेको छ हेमन्त अवधूतैबराबरी।। ५ अँठ्याउने हिमै चिम्टा मौकामा छन्छनाउँछ। जहाँ पनी धुवाँधार धुनी घोर जगाउँछ।। ६