This page has not been proofread
अथ ग्रीष्म-विचार लेखी देखेबुझेसम्म वसन्तमहिमा सब। कविको लेखनी दौड्यो ग्रीष्मवर्णनमा अब।। १ राम्रो वनबगैंचाको वासन्ती कान्ति मन्द भो। मानू स्वर्गीय गङ्गाको मधुर स्रोत बन्द भो।। २ पुगे शनैःशनैः सूर्य मध्य आकाशमा अब। देखायेर पराकाष्ठा उत्थानक्रमको सब।। ३ प्रतापीको प्रतापाऽग्निशिखा जस्ता कडा दिन। दबाई जगतैलाई अब थाले खडा हुन।। ४ शकेसम्म करद्वारा पृथ्वीको रस खींचन। अविवेकी विजेता झैं सूर्य लागीरहेछन।। ५ धपक्क भै बलेका छन् घामले दिन बेसरी। दीपकाऽऽभ्यासमा व्यग्र विद्वान्का इन्द्रियैसरी।। ६ रश्मिका रूपमा ताता वर्षायेर तिखा सिया। सूर्यले गर्न आँटे कि विश्वगोल छियाछिया?।। ७