पहाड त्यस्तो ! जङ्गल त्यस्तो ! पथरा पर्यौ कि ?
मलाई सम्झी दुःखमा नयन आँसुले भर्यौ कि ?
प्यारा ! आँसुले भर्यौ कि ?
कपाल दुख्ता म आँसु पुछ्थेँ बिरामी भयौ कि ?
सुसार कल्ले गरेको होला ? अकेला थियौ कि ?
प्यारा ! अकेला थियौ कि ?
हावाले लगे मनको चिठी, मन रुने थिएन !
तिमी छौ पर, म रुन्छु घर, बिन्ती नै पुगेन,
प्यारा ! रोएको पुगेन !
हे पशुपति ! हे गुह्येश्वरी ! प्याराको गाथमा,
नबसोस् धुलो, नबिझोस् काँडा, मङ्गल होस् साथमा !"
मुनाले जोडिन् माथमा हात, हातमा लाग्यो जून,
भरिई आयो, भरिई आयो आँसुले नयन झन् !
•
राता र नीला पहेँला फूल वनमा फुल्दछन्,
छिर्बिरे फूल, सुनौला फूल हावामा झुल्दछन् ।
दक्षिणतिर किनारातिर फड्केको बादल,
भोटेको घर मदनअघि नेपाल झल्झल,
नेपालभित्र उज्यालो डाकी कुखुरा बासेको,
हिमालचूली बिहान खुली उत्तर हाँसेको !
पहाडहरूको नीरको माला नेपाल शहरको,
लुर्कन जस्ता रुखका लहर शिखर किनारको,
बादलवारि गुलाफ फुल्ने पूर्वको डाँडामा,
उज्याला पाटा, छायाका टाटा, पहाड टाढामा,
दूधका झर्ना झरेका सेता सतह गाढामा,
Page:Munamadan.pdf/36
Appearance
This page has been proofread
