Jump to content

Page:Munamadan.pdf/45

From Nepali Proofreaders
Revision as of 17:04, 7 March 2025 by Rbn (talk | contribs)
This page has not been proofread

हे प्यारा भाइ ! ती मुनालाई यो जल चाहिन्न,
ती निकी भइन् निरोगी भइन्, औषधि चाहिन्न !
हे प्यारा भाइ ! म हेर्न जान्थेँ, बाटो नै पाइन्न !'
'ती निकी भए आउन्नन् किन ? यो मेरो अवस्था !'
'खोज्दिहुन् तिनी आउनलाई ! पाउन्नन् ती रस्ता ।'
'गजब लाग्छ यो कुरा सुन्दा मावली कहाँ छ ?'
'बादलपारि, उज्यालो भारी मुलुक जहाँ छ !'
'हे मेरी दिदी ! हे मेरी दिदी ! मुना छिन् भन न,
ती मुना मेरी पृथिवीमाथि अझ छिन् भन न !
मुना, अझ छिन् भन न !
'पृथिवीवारि पृथिवीपारि ती मुना अझ छिन्,
फूलमा हाँस्छिन्, जलमा नाच्छिन्, तारामा चम्किन्छिन् ।
कोइलीकण्ठ बोल्दछ तिन्को, आँखा छ उज्यालो,
शीतमा रुन्छिन्, उदास हुन्छिन् देखिन्छ तुवाँलो !'
'मरेकी छैनन् ती मेरी मुना ज्यूँदी छिन् भन न !
मावलभित्र छिन् मेरी मुना, आउँछिन् भन न !
मावलभित्र छिन् मेरी मुना, आउँछिन् भन न !
आशाकी जरा, मनकी चरा, मुना छिन् भन न !
कुन दिन दिदी ! आउँछिन् भन न ?'
'हे मेरा भाइ ! ती मुना छैनन् !! पृथिवीवारिमा,
दुःखको लेश नहुने देश कल्पनापारिमा,
टिपेर बस्छिन् सुखका फूल स्वर्गको बारीमा ।'
'निठुरी दिदी ! निठुरी दिदी !! मार्‍यौ नि मलाई !!!
आशाको फूल यतिका दिन आँखामा झुलाई,
कानमा मेरो विषको घुट्का घुटुक्क पिलाई,
हे मेरी मुना ! हे मेरी मुना !! छाडेर गयौ नि !!!
पूजाकी मन्दिर, प्राणकी जञ्जीर तिमी नै थियौ नि !