पहाडवारि पहाडपारि पर्दाले ढाकेको,
स्वरुप तिम्रो खालि छ मेरो मनमा जागेको,
झल्झली देखी विरह लागेको !
वचन तिम्रो तारमा मनको निदाइरहन्छ,
सम्झेर आयो झन्कन्छ भित्र, कहानी कहन्छ,
दुःखको कानमा सुखको कथा बजाइरहन्छ ।
पखेटा छैनन् उडेर जान चिडिया उडेका,
हेरेर बसी आँसुका थोपा गहमा छुटेका,
देखेनौ तिम्ले कतिका थिए छातीमा गुडेका !
किन हो किन, यो मेरो मन बादलले ढाक्दछ,
सियोको टुप्पा नदेख्ने गरी मुटुमा लाग्दछ,
प्राणको मेरो पखेरु रुन्छ पिँजडा परेको !
न उड्न पाई, न खोज्न पाई चिन्ताले पिरेको,
उडन पाए त्यो पाउमाथि लुटुपुट पर्नेछ
त्यो छातीमाथि गएर फेरि भुर्भुर गर्नेछ,
सधैँको निम्ति साथमा फिर्नेछ !
पैसाको यस्तो भुमरीभित्र किन हो पसेको ?
मनको धन छाडेर किन ह्लासामा बसेको ?
हे पैसा ! तैँले पासोमा पाछस् सिंह झैँ हृदय !
सोझाको सराप असलको विलाप, दुष्टको अभय !
पैसामा भुली बिर्सेको हो कि ? कसैले भुलायो ?
प्राणको मन छकाईकन अरुले डुलायो ?
बिर्सनुपर्ने यसरी होइन ! भमरासरी मन !
के भर त्यसको ? नलागोस् पाप पापी छ मेरो मन,
प्राण ! पापी छ मेरो मन !
Page:Munamadan.pdf/35
Appearance
This page has not been proofread
