Jump to content

Page:Munamadan.pdf/34

From Nepali Proofreaders
Revision as of 16:55, 7 March 2025 by Rbn (talk | contribs)
This page has not been proofread

पानीले पार्‍यो आकाश नीलो, पखाली तुवाँलो,
कौसीमा लाग्यो क्या राम्रो जून स्वर्गको उज्यालो ।
सिरिरि सिरि शीतल हावा, सुन्तला फुलेको,
क्या मीठो वास्ना मधुर मसिनो, जूनमा मिलेको ।
जूनको विमल - - अमृत-जल - - तलाउ-छायामा,
नरम, मधुर सरस, जगत्, जीवन झैँ मायामा ।
नीदले छोडेकी कोइली बोल्छे जुनेली रातमा,
जीवन देश बोले झैँ प्रीति मनका पातमा,
क्या मीठो त्यसको सुरिलो स्वर रातको कलिलो,
मनको तिर्सना सपनाभित्र घुसे झैँ रसिलो
गमलामाथि केँबरा झुल्छ, गुलाब बोल्दछ,
छायाको बुट्टा पर्खालमाथि ज्यूँदो झैँ चल्दछ ।
नीलो छ सारी ताराको पारी मुनाको गाथमा,
भावका जल-महल-लोचन कोमल छन् रातमा ।
चन्द्रमालाई चन्द्रमा हेर्छिन् कौसी र आकाश,
स्वर्गको अटाली हाँस्दिछिन् यौटी, यौटी छन् उदास ।
यो देश छैनन् उनका आँखा, मनका चित्रमा,
गडेको टक छ अरु देश जूनका भित्रमा ।
सम्झना झुम्मियो बादल जस्तो चन्द्रमा हराइन्,
विरह जस्तो अँध्यारोभित्र, एक आँसु चुहाइन्,
मुनाले बोलिन्, 'हे मेरा कृष्ण ! मलाई भुल्यौ नि !
निठूरी मन लिएर भन, कसरी डुल्यौ नि ?
कृष्ण ! कसरी डुल्यौ नि ?
मुहार तिम्रो जुहार मेरो नजरको हरायो,
कुन पापी दैव आएर चोरी कुन देश फिरायो,
सम्झनालाई छायाले छकायो !