Jump to content

Page:Munamadan.pdf/27

From Nepali Proofreaders
Revision as of 16:22, 7 March 2025 by Rbn (talk | contribs)
This page has not been proofread

'बेपारीलाई कामको भीड फुर्सद पाएन,
लेखूँला भन्दै भुलेको होला त्यसैले आएन,
वनको बाटो डाँडा र काँडा, टाढा भै आएन ।'[✺ 1]

(मदनलाई बाटामा हैजा लाग्छ)
'नछाड मेरा हे साथीभाइ ! वनमा मलाई,
काग र गिद्धहरुको पापी शिकार बनाई ।
घरमा मेरी ती बूढी आमा, ती बूढी मर्नेछन्,
चन्द्रमा जस्ती ती मेरी मुना ठहरै पर्नेछन् ।
हे मेरा साथी ! हे मेरा भाइ ! म अझ मर्दिनँ,


  1. ✺'नमान पीर बुहारी मेरी पीरले सुहाएन'
    'तैपनि लाग्छ मनमा बादल, कुइरो धुरिन्छ;
    शङ्काका छाया नाचेर उड्छन् मन पीरले भरिन्छ;
    खराब कुरा नसोच्नु भन्छन् अफाल्दा फर्किन्छ
    मुटुमा चीसो पसेर आउँछ आँखिभौँ फड्किन्छ
    हजूर ! आँखिभौँ फड्किन्छ ।
    हजूर, हाम्रो अबला चोला आधार हुँदा दूर
    सुकेको पात झैँ शीतको बेला,
    हिमाली सासमा काँपेर उठ्छ थरथर, गली नूर
    मुटुकी चरी छायाले डरी, भटभटी भुर्भुरी
    उडूँ कि बसूँ सरि छ जीवन हाँगामा फर्फरी
    हिमाललाई हेर्‍यो मन चीसो हुन्छ पर्वत हैर्‍यौ नीर,
    हावाले छुँदा मन उडूँ भन्छ, के गरी रहूँ थिर ?
    हजूर ! के गरी रहूँ थिर ?'
    'नमान पीर बुहारी मेरी ! असलै हुनेछ,
    फूल झैँ छोयौँ संसार हाम्ले,
    न मान्छे न त दैवले हाम्लाई काँडालै छुनेछ ।'