छन्, ज्ञान विवेकको अँधेरीमा पाइन्न । विज्ञानभन्दा ज्ञान मूल्यवान् छ, मान्छे जडमा अन्धयन्त्र लगाएर अन्धो विवेकले बोक्रे नियम पत्ता लगाउनमा आफ्नो गौरव सम्झँदैन, अन्धविश्वास भन्नेले आफ्नो अन्धविश्वासउपर आँखा चिम्लिरहेछ, तर हाइ ! हाइ ! नेपाली हृदय ! तँभन्दा सुन्दर, शान्त सजीव कुरा संसारमा के होला ?
म त्यहाँ सब चिज पाउँछु, जहाँ जीव पाएथेँ, उहाँ मेरो आत्मा जागरित भएर मानवजीवनको जादुका निमित्त आँखा खोलेर उठ्यो । म त्यहीँ मानवसंसारको सम्पूर्णता देख्दछु, म केही सौन्दर्यको चिज देख्तिनँ, जो म नेपाल संसारमा पाउन्नँ । यो हिमालयको पवित्र जादु भने नेपाली माटोको मूर्ति जो मै हुँ- जो स्वर्गको झिल्काले घिच्किएर जीवन भन्ने ज्योतिले सजीव भएर जागेथ्यो- यो मनुष्यलाई नेपालमा अनन्तता छ । यहाँ पृथ्वीमण्डलमा हुन सक्ने र भएका समस्त चिजहरूको सूक्ष्म प्रतिबिम्ब टनाटन छ । हिउँदको दृश्यमा ध्रुव प्रदेशको नमुना, ग्रीष्म वर्षाको दृश्यमा नैरक्षिक मुलुकहरूको नमूना यही नजरसामुन्ने छ । यहीँ सब आबहवा पाइन्छन्, यहीँ छन् बेबिलोनका ह्याङ्गिङ गार्डेन्स- झुलन बाग, यहीँ छन् तीन सय नायगरा फल्स, चिनको पर्खाल सात आश्चर्यमा गन्नेले यी नेपाली किनारका महान् पर्खालमा चमत्कार नदेख्नु नेपाली नहुनुको अन्धता हो । चाँदीको झल्झलाउँदो गौरीशङ्कर महल नजरसामुन्ने नै छँदै छ । यहाँ के छैन ? मलाई आश्चर्य लाग्छ, के छैन ? स्वर्ग यसैमाथि छ, नरक यसैतल छ । परमेश्वर यहीँ दिनभरिभरि र मानव आत्मा यहीँ वरिपरि, आकाशको अन्ततामा विशाल नक्षत्रहरू यसकै अगाडि जूनकिरी झैँ नाचिरहेका छैनन् ? तब म फेरि दोहोर्याउँछु- यहाँ के छैन ? स्वर्गको चमत्कार कि पृथ्वीको परिपूर्णता ?
मैदानी देश चिच्याटलाग्दो हुन्छ; त्यहाँ आँखालाई शीतलता केही पाइन्न; जता हेर्यो उस्तै । कतै नीचा कलात्मक चुनाउ, चित्रात्मक रेखाहरू, रङ्ग र छाया र फाहरू, शिखरलहरका झलमलाहट, पृथ्वी त्यसै हर्षले उम्लिएर चुलिँदै-चुलिँदै स्वर्ग छोएर टुप्पामा सुनौला मुस्कुराहट लिएर हाँसिरहेकी, पाटा, छविछाया वनको मिर्मिरे मधुर नीलिमा, यो मिठास र मोहनी मैदानमा पाइन्न । मैदान बोधो छ एकनासे लाटो जस्तो, मैदान चित्रकारी हुन सक्तैन, तस्बिरको भुइँ जस्तो हुन्छ, जसबाट सच्चा तसबीर झिकिदिएको छ, तर पहाडी देशको दृश्यमा विभिन्नताको माधुरी