बुहारी मुरमुरिँदै आफ्नो कोठाभित्र पसिन् ।
तब आए खिसीटेप्लेका स्वरहरू ! "बघिनी, बघिनी .. कस्तो भुस्याहा कुक्कुर हुँदा रहेछन् बा नेपालमा-कसाही टोलमा मासु खुवाएर पालेको त दी !"
"कल्लाई भन्या ? …… खूँ खूँ खूँ खूँ खिर खिर ।"
"कसैलाई पनि होइन … साँच्चिकै बाबै । अस्ति बज्यै र म जाँदा झम्टेर कस्तो ! ठिक्क ! कोही-कोही मान्छेजस्तो !"
खिर ….. खिर …. खिर ….. खिर …..
एक कानदेखि अर्को कानसम्म हाँस्दा मुख च्यात्तिने गँड्याही वसन्धरी फलाक्न थाली ।
"छिः आजकालका बुहारी ता भो ! … सासूको ता चोक्टा पो लुछ्ने रैछ ! कस्तो जिब्रो ए ! कस्तो लाग्ने छुराजस्तो !"
"गँड्याहीसमेत आइलागेकी बाबा ! म पनि सक्तिनँ यस्तो घरमा बस्न । दिनरातको रडाको ।" चम्पा मुरमुरिन लागिन् भनभन । त्यसपछि सब आफ्नो कोठातिर लागे । वसन्धुरीले मात्र सुइँक्क सुइँक्क गर्दी सासूको पिँडौलामा घिउ घस्न लागेको आवाज सुनिन्थ्यो । कठबारले छेकेको पल्लो कोठाबाट ।
झगडा एक प्रकाशन हो । यो रोग होइन । रोगको लक्षण मात्र हो । झगडाको पूर्वरूप जो मनको वैमनस्य हुन्छ त्यही वास्तविक रूपको गन्दा खराबी हो । जस्तो लडाइँ खराब होइन केवल राष्ट्र वैमनस्यको र प्रतियोगिताको फुटान मात्र हो ।
अच्छा । म पनि यस छानामनि घोरमुखासँग एकै घरमा बस्दिनँ रे ….
बस्छु कहाँ त ? …..
त्यो थियो साँच्चिकैको समस्या । माइतमा त !
घरफाला बुहारीको माइत भाउज्यू बुहारी नामका दन्तदार आँखादार दुम्सीहरूको काँढोफेकाइको झन् बिस्टे खेर हुन्छ ।
जे भए पनि उनीलाई बरु माइतै बेस हुने थियो । दुई चार महिना त हेरून् । नभए भान्से लाग्ने थिइन् दरबारमा, कतै । कतै भएन भने देखा जायगा । यत्रो संसारमा एक ठाउँ कसो न मिल्ला ? घमन्डी, भ्रष्टसाधु, क्रोधिनी, दलित, ज्वलित, चम्पाले त्यो रातभर नसुतीकन पोका-पुन्तरा ठिक पारिन् । भोलिपल्ट झिसमिस हुँदा कसैलाई थाहा नदिईकन नोकर्नी वसुन्धरीकी छोरी पानमतीसँग वाग्मतीपारी माइतीको बाटामा रमाना भइन् ।