छलछाम लुकाउन कोसिसले गरेको अप्रकृतिक स्वामीजीको सामुन्ने छाइरहेको थियो ।
चम्पा बिलकुल लाटीजस्तो भएर, खसक्क परेर, पतिदेवको अगाडि जमिनमा आँखा झुकाएर रहिन् ।
उनको मनको मुटुले समालोचना गरिरहेको थियो जस्तो रोबर्ट मन्टगोमेरीको समालोचना लार्ड मेकालेले गरेका छन् तर उनी बाहिरबाट खुसुक्क परेर परिस्थितिको श्रेष्ठतालाई मान्य सम्झी उद्योगमा खडा रहेकी थिइन् । स्वामीजीले पोसाक राखे । उनको हातबाट एक, एक पोसाकका थान उनले पक्रँदै उचित ठाउँ मेचमा खुटीमा तन्दुरुस्त राखिदिइन् । तब अब आफ्नो बढ्ता काम या सेवाको आवश्यकीयता होवैन होला भनेजस्तो प्रश्नात्मक ढाँचाले द्वारको पलेँटातर्फ अधराजी पयर चालेजस्तो देखिइन् ।
जान लागेको देखेर रामकान्तले भने, "चम्पा ! किन ? कहाँ जान लाग्या ? बस न एकछिन । मसँग रिसाएर को कि ? किन ? आज केही पनि नबोलेकी ।"
चम्पाले फर्केर मसिनो स्वरले भनिन्- "नबोल्दा त यस्तो छ अर्कालाई । म जाउँ क्यार !"
रामकान्तले आफ्नो पत्नीको सौन्दर्य र शीलको मनमन प्रशस्त कदर गरिरहेका थिए । चम्पा यस्तो निर्दोष, यति सुन्दरी, यति बेकसुर बाला छिन् । के यिनी कोहीभन्दा कम छिन् त ? ठकुरीकी छोरी भन्नु मात्र हो । मेरो आदर्श च्यान्टा भए पनि यिनी कमसे कम उच्च सौन्दर्य विशेषज्ञको आदर्श मूर्ति छन् । मेरो आर्दशमा मेरै च्यान्टावनाको प्रभाव अड्ढित छ । यो उनको भूल होइन । तर टी.बी. ………. हा ! पाहुना टी.बी. …….. तँ मेरो सर्वस्व खान आएर कर-बल आतिथ्यको उपदेश दिइरहिछस् । अब त मैले तेरोउपर विजय प्राप्त गरेँ । तँ मलाई अब मार्न सक्तैनस् ।
उनको तरङ्गका मूक क्षणमा चम्पादेवीले खुब तिखो नजर लगाइन् । उनले अपलक अभ्यस्त आँखाले पुरुषको चेहरा जाँचेर मुखरेखाको अन्तर्भाव खुब पढ्न खोजिन् । उनले सम्झिन्- यी पुरुष चिन्तनशील छन् आज- सायद आफ्नो बिरामीको विषयमा । सायद उनलाई आमा चिढ्याउन देखि डर लागिरहेछ । सायद उनी मलाई यहाँ राखेर