छन्, ज्ञान विवेकको अँधेरीमा पाइन्न । विज्ञानभन्दा ज्ञान मूल्यवान् छ, मान्छे जडमा अन्धयन्त्र लगाएर अन्धो विवेकले बोक्रे नियम पत्ता लगाउनमा आफ्नो गौरव सम्झँदैन, अन्धविश्वास भन्नेले आफ्नो अन्धविश्वासउपर आँखा चिम्लिरहेछ, तर हाइ ! हाइ ! नेपाली हृदय ! तँभन्दा सुन्दर, शान्त सजीव कुरा संसारमा के होला ?
म त्यहाँ सब चिज पाउँछु, जहाँ जीव पाएथेँ, उहाँ मेरो आत्मा जागरित भएर मानवजीवनको जादुका निमित्त आँखा खोलेर उठ्यो । म त्यहीं मानवसंसारको सम्पूर्णता देख्दछु, म केही सौन्दर्यको चिज देख्तिनँ, जो म नेपाल संसारमा पाउन्नँ । यो हिमालयको पवित्र जादु भने नेपाली माटोको मूर्ति जो मै हुँ– जो स्वर्गको झिल्काले घिच्किएर जीवन भन्ने ज्योतिले सजीव भएर जागेथ्यो–यो मनुष्यलाई नेपालमा अनन्तता छ । यहाँ पृथ्वीमण्डलमा हुन सक्ने र भएका समस्त चिजहरूको सूक्ष्म प्रतिबिम्ब टनाटन छ । हिउँदको दृश्यमा ध्रुवप्रदेशको नमुना, ग्रीष्म वर्षाको दृश्यमा नैरक्षिक मुलुकहरूको नमूना यही नजरसामुन्ने छ । यहीं सब आबहवा पाइन्छन्, यहीं छन् बेबिलोनका ह्यांगिङ गार्डेन्स–झुलन बाग, यहीं छन् तीन सय नायगरा फल्स, चीनको पर्खाल सात आश्चर्यमा गन्नेले यी नेपाली किनारका महान् पर्खालमा चमत्कार नदेख्नु नेपाली नहुनुको अन्धता हो । चाँदीको झल्झलाउँदो गौरीशंङर महल नजरसामुन्ने नै छँदै छ । यहाँ के छैन ? मलाई आश्चर्य लाग्छ, के छैन ? स्वर्ग यसैमाथि छ, नरक यसैतल छ । परमेश्वर यहीं दिनभरिभरि र मानव- आत्मा यहीं वरिपरि, आकाशको अन्ततामा विशाल नक्षत्रहरू यसकै अगाडि जूनकीरी झैं नाचिरहेका छैनन् ? तब म फेरि दोहोर्याउँछु यहाँ के छैन ? स्वर्गको चमत्कार कि पृथ्वीको परिपूर्णता ?
मैदानी देश चिच्याटलाग्दो हुन्छ; त्यहाँ आँखालाई शीतलता केही पाइन्न; जता हेर्यो उस्तै । कतै नीचा कलात्मक चुनाउ, चित्रात्मक रेखाहरू, रंग र छाया र फाहरू, शिखरलहरका झलमलाहट, पृथ्वी त्यसै हर्षले उम्लिएर चुलिँदै-चुलिँदै स्वर्ग छोएर टुप्पामा सुनौला मुस्कुराहट लिएर हाँसिरहेकी, पाटा, छविछाया वनको मिर्मिरे मधुर नीलिमा, यो मिठास र मोहनी मैदानमा पाइन्न । मैदान बोधो छ एकनासे लाटोजस्तो, मैदान चित्रकारी हुन सक्तैन, तसबीर भुइँजस्तो हुन्छ, जसबाट सच्चा तसबीर झिकिदिएको छ, तर पहाडी देशको दृश्यमा विभिन्नताको माधुरी