Jump to content

Page:Laxmi nibandhasangraha.pdf/96

From Nepali Proofreaders
This page has not been proofread

गधा बुद्धिमान्‌ कि गुरु ?

संसारमा ज्यादा अवहेलित जन्तुहरूउपर सहानुभूति बराबर उम्लेर आउनु स्वाभाविकै कुरा हो र जुगानजुग बोधोपनको प्रतिनिधि सम्झिएको जनावरलाई देखेर आज मेरो हृदयमा अनौठो दया उत्पन्न भइरहेछ । जब गुरुले मलाई गाली गर्नुहुन्थ्यो तब यही चौपायाको नाम दिएर मेरो नूर गिराउनुहुन्थ्यो र सहपाठीहरूको खिसीटयूरीको मर्मभेदी क्रूरता हृदयमा बिभन जान्थ्यो । कुनै-कुनै मानिस त भन्दछन्‌ कि यसको नाम लिए दिनभरिको धर्म पनि जान्छ रे ! जब मानिसले काम बिराउँछ तब हरेक मालिक यही उपाधिभन्दा राम्रो केही देख्तैन, जसले आफ्नो सेवकलाई शरम र आत्मनिन्दाको भाव उठाउन सकोस्‌। अंग्रेजीमा गधाजस्तो बोधो भन्ने उखानै छ, तर हिन्दूहरू अरू ज्यादा अवहेलनाको तीव्रता देखाएर 'गधा' भन्ने शब्द अदृश्य विस्मय-चिह्नका साथ नाराजको मुखारविन्दबाट प्रयोग गर्दछन्‌; मानौं “'गधाजस्तो बोधोपन" पनि हुँदैन । अनि म सम्झन्छु शेक्सपियर, जसको सहानभूति सबभन्दा चौडा र कोमल थियो । उनले 'मिड समर नाइट्स ड्डीम' भन्ने नाटकमा निकबटमलाई हास्यपात्र बनाउँदा गधाको टाउको लगाइदिएका छन्‌ ।

यस्ता उपहास र अबहेलनाका पात्रहरूमा सहानुभूति राख्नु मानवस्वभावको लक्षण भए तापनि आजसम्म कुनै लेखक या कविले यस निर्दोष सहनशील जनावरउपर दयाको हृदय नदेखाएको हुनाले मेरो क्षुद्र कलमद्वारा सकभर यस दयनीय पात्रको समर्थन गरँ भन्ने विचारले आज कलम उठाइरहेछु । तर बस ! मान्छेका स्मृति कति कमजोर हुन्छ । के ष्टिभेन्सनसाहेबले “गधासँगको सफर' मा मोडेस्टिनउपर प्रचुर सहानुभूति प्रदर्शन गरेका छैनन्‌ र ? मैले गधाको साथ भ्रमण गरेको छैन, ती अनुभवहरू मेरा निमित्त असंभव छन्‌ किनकि म कट्टर सनातनी हिन्दू उपाध्याय ब्राह्मणलाई गधा छुनुसम्म पनि निषेध । तर सनातनी