तेइस
आज शिव नारानको खेतमा रोपाइँ भइरहेको छ । रोपाइँको दिन हुनाले पुन नारान र हर्ष नारान पनि अर्काको काममा नगई खेतमा रोपाइँ गर्न जुटिरहेका छन् । लतमाया र नानीथकुँ पनि रोपाइँमा लागिरहेका छन् । काम सघाउन आएकाहरू पनि सबै खुसी, दङ्ग भई नाचेर रोपाइँ गरिरहेछन् । नानीथकुँउपर हिजो बेलुकी त्यत्रो आपत्ति खनिएको थियो, आज पनि उनको मनमा अन्तर्द्वन्द्व चली नै रहेको छ; उनको जीवनमा समस्या अल्झिरहेको छ, तर पनि आज आफ्ना परिवारका अरू खुसी सदस्यहरूसरह नै नानीथकुँ पनि खुसी छिन्, दङ्ग छिन्, आनन्दमा मस्त छिन् । उनी पनि अरूसरह नाच्तै–गाउँदै मस्तानामा कुदिरहेकी छिन् किनभने नानीथकुँलाई राम्ररी थाहा छ, उनका बाबु अष्टनारानलाई रोपाइँको दिनमा जस्तो सुख, आनन्द, मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो । अनि उनलाई त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि । रोपाइँको दिनलाई उनी जीवनको प्रतिष्ठा आत्मआह्वान गरेको दिन सम्झन्थे । यसकारण आफ्नो जीवनमा जस्तै पीडा, व्यथा, दुःख, दर्द र जलन भए तापनि 'आज रोपाइँको दिन खुसीयाली प्रकट नगर्नु आफ्ना पिताज्यूको आत्मालाई आघात पुऱ्याउनु हो' भन्ने सम्झेर नानीथकुँ दुःखमा पनि सुखको अनुभव, अनुभूति गरी हर्ष मनाइरहेकी हुन् ।