"म के थाहा पाऊँ होइन, दिनदिनै तिमीकहाँ आउने, तिमीसित ख्यालठट्टा गरेर जाने भएर पनि तिमीलाई थाहा छैन भने अरू कसलाई थाहा होला ? भन, किन दिनहुँ यहाँ त्यो आउँछ ? तिम्रो कुन रोगको दिनहुँ इलाज गर्न आउँछ ?"
नानीथकुँ एक शब्द बोलिनन् । शिव नारानले बोलेका कुरा भित्ताको मयूरले झैं केवल सुनिरहिन् । लतमायाले पनि केही बोलिनन् । यत्तिकैमा पुन नारान, हर्ष नारान, हाकुमाया सब दैनन्दिन काम सकेर घरभित्र पस्न थाले । उनीहरू आउँदा पनि शिव नारान कराइ नै रहेका थिए । एकछिन जिल्ल परेर पुन नारानले भने– "किन दाइ ! मामिला के छ ?"
"उही हिजोको कुरा । आज पनि अलि सबेर आएको थिएँ, दसी प्रमाण फेला पर्यो । हिजो त्यस्तरी जात्रा गरेको थिएँ पर्बाह गरिनन् ।" शिव नारानले रन्केर भने ।
"यो त ज्यादै अचाक्ली भयो, ज्यादै मनपरी ! यसरी गराइराख्न त हुँदैन । यो त म पनि सहन्नँ ।" पुन नारानले भने ।
"तिमी चाहन्छौ भने हामी उहीसँग बिहे गराइदिन सक्छौं तर यसरी लुकीचोरीकन ख्यालठट्टा गरेर भाँडिनु म राम्रो ठान्दिनँ ।" हर्ष नारानले भने ।
कान्छो दाजु हर्ष नारानको कुरा सुनेर नानीथकुँलाई आश्वासन भयो । तर उनले शिव नारानको यो कटु वाक्य सुनेर फेरि निराशाको अनुहारमै भौँतारिनुपर्यो– "के भनेर बदमास डाक्टरसँग बिहे गराउन दिन्छु म ! त्यो डाक्टरलाई पाएँ भने म खुट्टा भाँचेर पठाइदिन्छु ।"
"तैपनि उनको पसन्दलाई हामीले हेर्नैपर्ला । स्वतन्त्रताको कदर गर्ने जमाना आइसकेको छ ।" हर्ष नारानले फेरि भने ।
"तिमीले उसैको अगाडि यस्तो वाहियात कुरा गरेर बदमासीलाई प्रोत्साहन दिँदै गरे झन् ठीक हुन्छ ?" हर्ष नारानदेखि पनि अलि रिसाएर शिव नारानले भने ।
"युगको गति हेरेर मैले भनिरहेको हुँ ।'
"मलाई पनि थाहा छ युगको गति, स्वतन्त्रताको महत्त्व र मानव इच्छाको कुरा । तर म स्वतन्त्रताको नाउँमा जसले जोसँग जस्तो पनि प्रेम गरेर हिँडेको हेर्न चाहन्नँ । प्रेमको पनि महत्त्व हुन्छ, उसका निम्ति पनि फुक्का र बन्धनको लेखाजोखा, मापदण्ड हुन्छ, सीमारेखा हुन्छ, विधान हुन्छ,