कुराको तिमीले खुब विचार गर विचार गर ।" अलि गम्भीर मुद्रामा डाक्टर गोदत्त प्रसादले भने ।
"वा ! ‘उल्टा चोर कोतवालको डाँटे !’ आफू बदमासी गर्ने, उल्टो अर्काको दोष खोज्ने ? छिः, यस्तरी पनि मानिस निर्लज्ज हुनु हुन्छ ?" अलि घृणाको भावमा रञ्जनादेवीले भनिन् ।
रञ्जनादेवीको ओठेजबाफले डाक्टर गोदत्तप्रसाद अवाक् भए । उनको मुख थुन्ने शक्ति डाक्टर गोदत्तप्रसादले आफूमा देखेनन् । अनि उनले आत्मसमर्पणको दाउ खेल्न सुरु गर्न थाले । ख्याल गर्दाको भावमा मुसुमुसु हाँस्तै डाक्टर गोदत्तप्रसादले भने- "उनले ठट्टा गर्न कुतकुत्याएपछि कसरी मैले लाछी भएर मुर्दा बनिरहने नि ?"
"त्यसो भए कसैले मसँग ठट्टा गर्न कुतकुत्याएमा बहादुर भएर मैले पनि अगाडि बढ्ने त ? त्यसरी म जिउँदो भएर निस्केमा भन्नुहोस् त तपाईंलाई मन पर्छ ?" बाघ झम्टाइमा रञ्जनादेवीले भनिन् ।
"बोल्नोस्, तपाईंकी स्वास्नीलाई कसैले ठट्टा गर्न कुतकुत्याएकोमा चाख मानेर जिस्किन तपाईंलाई एकदम मन पर्दैन भने कुनै नवयुवती ठिटीले ठट्टा गर्न कुतकुत्याएकोमा मेरो लोग्ने कुखुरी काँ गरेर दौडन पुगेको मलाई मन्जुर होला ?" चेहरा मुस्कुराउँदै रञ्जनादेवीले भनिन् ।
"मेरो कुरालाई त्यसै लऱ्याकलुरुक पारी हाँसोमा उडाएर जान पाइन्न, सफा जबाफ दिनोस् तपाईंको के विचार छ ?" चुठेर भाग्न लागेका डाक्टर गोदत्तप्रसादलाई राम्ररी सुनाएर रञ्जनादेवीले भनिन् ।