डाक्टर गोदत्तप्रसादले भात खाइरहेको बेलामा कोही नभएको मौका छोपी रञ्जनादेवीले भनिन्- "होइन, तपाईंको कस्तो बानी यो, के खुड्किलै पिच्छे तपाईंलाई स्वास्नी चाहिन्छ कि ? यत्रो बडादमी भएर कस्तो चाला यो ? कसैले थाहा पाए के भन्ने होला ? यस्तो पनि बानी ! धेरै आँखा चिम्लि सकेँ, अब पनि आँखा चिम्लिरहनु त फसाद मोल्नु सम्झेर आज त भनि हालेकी – होस गर्नोस् है, टाउको फोरेर कमाइराखेको इज्जत पानी भएर नपोखियोस् ।"
"के ?" अलि आश्चर्य मानेर दबेको स्वरमा डाक्टर गोदत्तप्रसादले भने ।
"मलाई थाहा छैन ? तपाईंका एकएक कुरा मलाई थाहा छ ।"
"थाहा भए भन न त, भुलचुक गरेको छ भने अर्ती दिएर सुधार ।" मुसुक्क हाँसेर गोदत्तप्रसादले भने ।
"नरिसाईकन मुसुमुसु हाँस्ने मानिस डरलाग्दा हुँदा रहेछन्, त्यस्ता मुसुमन्डलीले मानिसको ज्यान पनि लिन बेर छैन ।" अलि रिसाएको भावमा रञ्जनादेवीले भनिन् ।
"हाँस्ने बानी तिमीलाई मन पर्दैन भने के त बहुला कुकुर रिसाए रिसाएको तिमीलाई राम्रो लाग्छ त ? तिमी यस्तै नराम्रो बानी सिकाउँछयौ भने मलाई तिमीले सुखमय जीवन बिताउन दिने सौभाग्य दिन्नौ रञ्जना !" हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।
"चुप लाग्नोस्, धेरै चिप्लो कुरा नगर्नोस्, मुख मिठो भएर के गर्ने, करनीले अर्काको कलेजा कटकट काटिसकेको छ । यसरी मिठो कुरा गरेर ढिलो मार्नुभन्दा बस, खुकुरीले एक चोटि छिनालिदिनु धेरै जाती देख्छु ।" अलि अफसोसको भावमा रञ्जनादेवीले भनिन् ।