चलाउन पनि बडो सजिलो, बल पनि कत्ति खर्च नहुने । क्या विज्ञानको चमत्कार ! क्या मान्छेको मगज !"
"तान मात्र भएर के गर्ने ? कसले सिकाइदिन्छ नि चलाउन, आफैं जानिन्न होला !" अलि खुसी भएको भावमा नानीथकुंले भनिन् ।
"केही पनि गाह्रो छैन चलाउन, नेपाली तानभन्दा पनि सजिलो छ, गुरु राख्नाको केही जरुरतै छैन, आफैं सिक्न सकिन्छ । जो पनि कुनै तान चलाइ रहनेले आफैँ चलाउन सक्छ । भोलिदेखि हालौली ।" रामबहादुरले सोरत्र भाव झिकेर भने ।
"सुब्बासाहेब मात्र असल भएर पनि हुन्न, उहाँका छोराहरू अलि छुच्चाजस्ता देखिन्छन् । आफ्नो त सुक्खा परेको हुनाले गएको सालको बाली बाँकी हुँदा उहाँका कान्छा छोरा आएर भन्ने नभन्ने भने । सयकडा पच्चिस बढाएर कागज गरिदिएपछि बल्ल तिनले छोडेर गए। दुई पैसा फाइदाको लोभमा देशी तान त लिउँला फेरि उहाँका छोराहरूले ‘चौटा खान गएकी बुढी झोलैमा डुबेर मरी’ गरिदिए भने ?" लतमायाले अलि गम्भीर भावमा भनिन् ।
"त्यसको केही धन्दा मान्नु पर्दैन । तिम्रा लोग्नेलाई त्यसरी नचाहिँदो कागज लेखाई ल्याएको हुनाले सुब्बासाहेब छोरादेखि ख्याल रिसाउनुभएको थियो ? त्यो कागज पनि सुब्बासाहेबले उनकै अगाडि च्यातचुत पारि सक्नुभैसक्यो ।" रामबहादुरले भने ।
"कागज च्याते पनि हामीले तिर्नुपर्ने कुरा तिरिहाल्छौं ।" लतमायाले भनिन् । "तिमीहरू त्यस्तै धर्मभाव भएका मोहीहरू भएरै त सुब्बासाहेबले पनि छोरामाथि त्यस्तरी रिसाएर कागज च्यातिदिनुभएको !"
"त्यस्तै असल भएको हुनाले पनि त सुब्बासाहेबको दिनपरदिन जय भइरहेको !" लतमायाले खुसी मानेर भनिन् ।
"सुब्बासाहेबले बालीको नाम पनि लिनुभएको छैन, सुब्बासाहेब त्यस्तो मानिस पनि होइन । भन, सुब्बासाहेबलाई बिन्तीभाउ गरेर पोहोरको बाली म माफी गरिदिऊँ ? सुक्खा साल भएको हुनाले बिन्ती गरे माफी दिनु हुने म देख्तछु ।…" आश्वस्त भावमा रामबहादुरले भने ।