Jump to content

Page:Ek chihan.pdf/25

From Nepali Proofreaders
Revision as of 11:00, 13 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

हर्षनारानका साथै नानीथकुं पनि सहसा अस्पतालमा आएको देखेर गोदत्तप्रसाद एकछिन जिल्ल परे । उनले तुरुन्तै सोधे- "बालाई कस्तो छ ?"

डाक्टरको यो प्रश्नले थामिरहेको आँसु नानीथकुंको आँखाबाट फेरि बग्न थाल्यो । उनी धुरुधुरु रुन थालिन् । हर्षनारानले तत्क्षणात् भने- "बा त गइसक्नुभयो ।"

"हँ ! राम ! राम !! कुन बेला ?" डाक्टर गोदत्तप्रसादले आश्चर्य चकित भएर शोकयुक्त स्वरमा सोधे ।

"अगि एघार बजेतिर ।"

"मैले त गर्नसम्म उपाय र कोसिस गरेको थिएँ । संसार यस्तै हो, मर्नु र जन्मनु संसारको गति हो । उमेर नपुगेको भन्नु पनि छैन ।" यहाँ किन आउनुभएको त तपाईंहरू ? मबाट अझै कुनै सेवा हुन सक्छ भने भन्नोस्, हाजिरै छु । दागबत्तीको काम सबै ठीकठाक भइसक्यो ?"

हर्षनारान र नानीथकं दुवै अनकनाएको देखेर डाक्टर गोदत्तप्रसादले फेरि भने- "भन्नुहोस्, केही भन्नु छ मसित ?"

हर्षनारानले बोल्न इसारा गरेपछि नानीथकुंले भन्ने साहस गरिन् तर बोल्न खोजेको कुरा सर्मले गर्दा घाँटीमै अड्कियो । उनको मुखमा सर्मको लालीपना छाउन थाल्यो । अनि डाक्टर गोदत्तप्रसादले आश्वासनको भावमा भने- "भन न नानी ! किन लजाएकी ? मलाई भन्नलाई पनि केको लाज ? मलाई आफन्तै सम्झे हुन्छ ।"

डाक्टरको यस्तो आश्वासन र सहानुभूतिपूर्ण कुरा सुनेर नानीथकुंले बोल्न साहस गरिन् तर यो पटक पनि लज्जाले घाँटी नै समाइदियो । अनि डाक्टर गोदत्तप्रसादले अझै आफन्तको भावमा भने- "किन लजाउनुपर्छ भन्या, मलाई परचक्री सम्झेकी ?"

हर्षनारान पनि लज्जाले मुन्टो निहुराएर उभिइरहेका थिए । यसपालि भने नानीथकुंले बल गरेर भनिहालिन्- "अलिकति रुपियाँ मागौं भनेर आएका हौं ।"

पूर्ण सहानुभूतिको भावमा डाक्टर गोदत्तप्रसाद तत्क्षणात् बोले- "कति रुपियाँ चाहियो नानी ?"