लतमायाले भनिन्- "हो ।"
"ज्यादै चिन्ता लिएकी जस्ती छन् यिनले । के यिनको बिहे भै सक्यो ?"
"भएको छैन ।"
"ओहो ! बिहे भइसकेको भए तिमी बुढाबुढीहरूलाई सन्चो हुने । बिचरा बुढालाई छोरीको पनि चिन्ता हुँदो होला ।" शिवनारानतिर हेरेर डाक्टरले भने- "भैगो, भरे मै आएर इन्जेक्सन दिउँला, कम्पाउन्डरलाई किन मफतमा एक रुपियाँ फिस ख्वाउने, बुझ्यौ ?"
डाक्टर गोदत्तप्रसाद सरासर हिँडे । हिँड्न लाग्दा शिवनारानले पाँच रुपियाँ फिस हातमा राखिदिए ।
नानीथकुं सत्र वर्षकी तरुनी थिइन् । उनको यौवन पुस्टिएर ढकमक्क फुलिसकेको थियो । किसानकी छोरी भए तापनि उनको अनुहारमा सौन्दर्य बलिरहेको हुनाले उनी भेष बदलेकी शाहज्यादीजस्ती थिइन् । नानीथकुंलाई थाहा नभईकनै उनको चेहरामा हिसी भरेको मुस्कान सधैँ नाचिरहन्थ्यो । नानीथकुंको यो विशेषता देखेर डाक्टर गोदत्तप्रसाद मुग्ध भए ।
नानीथकुंमा स्वत: उदाइरहेको प्राकृतिक सौन्दर्यका साथ आजको विज्ञानले आविष्कार गरेको सुन्दरताको चमत्कार पनि थपियो भने उनको रूप, यौवन कस्तो होला भनी नानीथकुंको पुलुक्क दर्शनमै डाक्टर गोदत्त प्रसादको कल्पना दौडिसकेको थियो ।
डाक्टर गोदत्तप्रसाद घर फर्किसकेर पनि कति बेरसम्म नानीथकुंको अनुहार सम्झिरहेका थिए ।
अस्पतालमा विशेष ध्यान दिनुपर्ने कामकाज गर्दैगर्दा पनि गोदत्त प्रसादका आँखाअगाडि नानीथकुंको अनुहार नाचिरहेको थियो र भरेको सपना देखिरहेका थिए । काम गर्दागर्दै उनी आफ्नो नाडीघडी बराबर हेरिरहन्थे । एघारदेखि पाँच बजेसम्ममा उनले हजार चोटि त घडी हेरे होलान् । जसै घण्टाघरमा पाँच ट्वाङट्वाङ हान्यो, कैदबाट मुक्त भए डाक्टर गोदत्तप्रसादलाई लाग्यो । दङ्ग भएर उनी घर नगईकनै सरासर अष्टनारानका घरतिरको बाटो तताए ।