हाम्रा गोर्खा भाषामा कम् सें कम् शृंगारका ५००० श्लोक् बनेका छन् तर यो श्लोक्का बराबर् अर्थको चमत्कार भयाको श्लोक् मैले त देखेको छैन, अझ यस् श्लोकका २ अधारी समेत् राखी पूरा अर्थको मर्म निकाल्न सकियो भने के भन् स्वर्गको आनन्द तहीं हुन जाला ।
भक्तिरसमा त अब उप्रान्त पनि भानुभक्तका बराबर कौनै कवि पनि हन सक्दैनन् भन्ने मेरा मनमा लाग्छ तर पनि ईश्वरको सृष्टि हो; भइगये भने पनि इनीका बराबरै हनन्; इनीभन्दा बढ्ता पक्का कोई पनि हने छैनन् भनी ठोकी लेखी दिञे । रात् दिन्का बोलीचालीका बराबर कविता गर्न सक्ने सामर्थ्य केवल इनै कविमा अझतक् देखियाको छ । पछि हुनेहरूका बयान् पछि नै हुनन् ।
जस्ता भानुभक्तका सरस कविता छन् उस्तै इन्को नाम पनि पियारो छ । संसारमा जन्म लीकन आफ्नू नाम राखेन भने तेस् पुरुषले जन्मेको के सार ? आज भानुभक्त स्वर्गवासी भयाको केवल २२ वर्ष भयो तर कविताको सामर्थ्य हेर्नुहोस् भानुभक्त फलाना हुन् नभन्न सम्ने हाम्रा श्री ५ गोर्खासर्कारका राज्यभरमा सैकडा पीछे २/४ हनन् । साधारण ब्राह्मणका कुलमा जन्म लीकन यसरी आफ्नो नाम प्रख्यात गर्नु यो सानो पुण्यको फल् होइन । किन नहोस् तब कविता तब कवि ! यस्तो कविता गर्नु पो गर्नु । भला म पनि यस् ग्रन्थको विस्तार ह्यैं गर्छु ।
ग्रन्थ समाप्तिमा म पनि अब कवि भानुभक्तको क्यै गुणगान गर्न भनी श्लोक् लेख्छु । भाषानुरागीहरूले यो समेत् पढी यस् ग्रन्थमा केही ऊंचे नीच भया माफ् गरी मलाई आफ्नै प्रिय पात्र मोतीराम भट्ट भनी जानून् ।
स्वस्ति श्रीयुत भानुभक्त कविका जीवन् कथा यो थिया ।
भाषाका अनुरागि जन्हरु सबै जानुन् भनी लेखिया ॥
यस्मा ऊँच र नीच केहि छ भन्या सज्जन् सबै माफ् गरून् ।
इन्का जीवनको कथा पनि सबै आनन्द सागर्परून् ॥१॥