२१
अँध्यारा पैसाको जति जति बढ्यो सञ्चय-कला
जगत्मा निर्धाको उति उति कठै ! शुक्दछ गला ।
बिकून् छोराछोरी, स्वयमपि बनोस् दास बिचरो
कठै ! कल्ले देख्ने उस अबुझको दर्द गहिरो ?
२२
विधाताले कैले ? किन ? कसरि ? कस्तो कुदिनमा ?
विषालू पैसाको अभिरुचि वृथा मर्त्य-मनमा ।
भर्यो होला कोलाहल कलहको जागृति गरी
बन्यो जस्ले गर्दा मनुज बिचरो दानव सरी ॥
२३
बिरामी लोभिन्छन् कुमतिवश जस्तो कुपथमा
दुरुस्तै त्यै ढाँचासित मनुज ती भ्रान्ति-पथमा ।
भुलेको देख्नाले हरबखत पैसाकन जपी
कठै ! आँशू मेरा पनि चुहुन थाले तपतपी ॥
२४
मुटूमा पैसाको प्रबल मुहुनी-मन्त्र ननिको
गड्यो जस्को, उस्को सनक अति सन्कन्छ मनको ।
न ता दायाँ-बायाँ, न तलतिर त्यो हेर्दछ रति
कठै त्यो के देख्थ्यो उस कलुषको दुष्परिणति ?
२५
कुनै भोका शोकाऽऽकुल विकल काकाकुल सरी
कुनै पोकै-पोका लिइ सयल गर्ने जुनिभरी ।
अहो ! कत्रो पैसा-जनित जनमा यो विषमता ?
यसैमा टिक्ला के जुग जुग कठै ! यो मनुजता ?
२६
बली, बाठा, टाठा, मनुजहरु चातुर्य-दहमा
जमाई अर्काका गरम पसिना भित्रि तहमा ।
डुबी गोता लिन्छन् अबुझहरु गोताकन खपी
क्षुधाको ज्वालामा जनमभर जल्छन् धपधपी ॥
Page:Tarun tapasi.pdf/78
Appearance
This page has been proofread
