२४
दया हो पृथ्वीको अति चहकिलो पारसमणि
दया नै हो कालो भव-जलधिको मुख्य तरणी ।
दया त्यस्तो त्यागी मनुज ! किन हिंसातिर झुक्यौ ?
म मर्ने हूँ, मर्छू तर तिमि नराम्रोसित चुक्यौ ॥
२५
म भन्छू हे अन्धो मनुज ! तिमि जस्ता मनुजको
अगाडी हत्यारो प्रकृति हलुकै हो दनुजको ।
यही तिम्रो पापी प्रकृति सब तिम्रा घरघरै
घुसी लाखौँ लाखौँ पुरुषकन पार्ला कि ठहरै ?
२६
मट्याङ्ग्रो माटाको जुन कुरुचिले आज भवमा
बन्यो, सोही पापी कुरुचि पछि सल्केर सबमा ।
कडा गोला गोली कठिन चिजका लाखन थरी
खडा भै पार्नेछन् सकल धरणीमा थरहरी ॥
२७
यही तिम्रो हिंसा, छलकपट ज्यादा प्रबल भै
सिधा-सादा, निर्धा अबुझ थिचिँदा आखिर सबै ।
अशान्ति-ज्वाला जो मुलुकभर बल्ला दनदनी
यसैमा पर्नेछौ जडमति ! म जस्तै तिमि पनि ॥
२८
चराको झैँ तिम्रो गगनतलमा सर्र उडने
कुनै वेला आयो नियति-गतिले तागत भने ।
यही हत्याकारी कुरुचिवश भै पागल सरी
अवश्यै पार्नेछौ सकल पृथिवी प्रेत-नगरी ॥
२९
बढ्यो स्याँ स्याँ, ज्यादा अभयसित जो अन्तिम कुरा
म भन्छू यो राम्रो किसिमसित सम्झे तिमि पुरा ।
अहिंसाको गङ्गाजल विन सबै उन्नतिकला
खरानी भै तिम्रो मनुज ! नगरोस् दीर्घ सुकला ॥
Page:Tarun tapasi.pdf/47
Appearance
This page has been proofread
