Jump to content

Page:Tarun tapasi.pdf/62

From Nepali Proofreaders
Revision as of 20:49, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread


विधाता माताको स्तनयुगलमा स्तन्यरसको
भरी धारा पैले अनि जनम त्यो दिन्छ शिशुको ।
विना खाने दाना धरणितलमा जन्म कसरी
कहाँ कस्ले लेला ? कुन कठिनता यो हरि हरि ॥

१०
किरा किर्थादेखी मनुज, पशु, पक्षीतक सब
जती जो जन्मन्छन् सकल तिनको योग्यविभव ।
धरित्रीको छाती उपर पहिले नै छ खचित
अहो भोकै मर्छन् तदपि किन त्यो दुर्गतिसित ?

११
धरित्रीमा भक्ति प्रणय अथवा जाँगर धरी
खनी, खोस्री, जोती, करचरण माटोमय गरी ।
निकाली खाये त्यो अमृतमय खाना मिलिजुली
जगत् सारा बन्थ्यो अमर नगरी झैं झिलिमिली ॥

१२
धरित्रिको मायाप्रणय नरदेखी कृमितक
सबै जीवाऽऽत्मामा सम छ, उसमा छैन फरक ।
उनी खाना दिन्छन् रतिभर कुनै भेद नगरी
सबैलाई पुग्ने किसिमसँग त्यो लाखन थरी ॥

१३
सबै प्राणी बाँच्ने किसिमसित खानाहरु दिन
नशक्ने नै होलिन् धरणि जहिले वा जुन दिन ।
तुरुन्तै फुट्नेछन् उस बखत कच्चा घट सरी
हजारौं के लाखौं किसिमसित धाँजा परि परी ॥

१४
सबैकी साजा छन् धरणि जननी, जीव सकल
उनैका छोरा हुन् हृदयरसमा लुब्ध चपल ।
भुली मातानाता अझ सब उनै मालिक बनी
वृथा गर्छन् कोलाहल कलह मेरी भनि भनी ॥