This page has not been proofread
५२
घर्केको हिम रेलिन्छ नदीका स्रोतमा सधैं ।
संसारी जीवको सारा बुद्धिमा भवितव्य झैं ॥
५३
हिमालका नदीभित्र हिमको त्यो कडापन ।
भरिनाले सबै लागे हिम झैं गँगर्याउन ॥
५४
त्रिशूली, कौशिका, कृष्णागण्डकीहरुले शिर ।
लुकाये हिमको घुम्टो हाली टम्म उँभोतिर ?
५५
थिचँदैछ तुषाराले सारा कमलको वन ।
नयाँ विचारधाराले धर्मजस्तै सनातन ॥
५६
पद्मपत्र सडे सारा हिलामा ती कठैबरी ।
गुणग्राही नपायेर मिल्कियेका गुणीसरी ॥
५७
उस्तो जनमनोहारी भरिलो पद्मसंहति ।
डण्ठी शेष हुनू आजै धिक्कार विधिको गति ॥
५८
नपारी बाहिरी ताप देखाई शीतलोपन ।
कठै शिशिरले साह्रै शुकायो रसिलो वन ॥
५९
खडाखडै सबै सिट्ठी बने तेसै वनस्पति ।
प्रमेहरोग लागेका रोगी झैं लागने अति ॥
६०
न ता वृक्षविषे पात, न ता झार कतै रति ।
जता हेर्यो उतै खाली उराठै लागने अति ॥