This page has not been proofread
अथ
शिशिर-विचार
१
हेमन्तको थियो जस्तो उस्तै शिशिरको छवि ।
दुर्लभै हुन्छ दोटाको भेद छुट्ट्याउने कवि ॥
२
उही ठण्डी, उही हुस्सू, हिमवर्षा उही सब ।
अहो शिशिरले सारा हर्यो हेमन्तवैभव ॥
३
हेमन्तको म हूँ भाइ, हुन्छु दाइबराबर ।
भन्ने शिशिरको भित्र पक्का छ मनमा सुर ॥
४
थपी हेमन्तको भन्दा बढता वातसङ्कट ।
सेक्यो शिशिरले साह्रै लोकका दुइ कञ्चट ॥
५
दिनहुँ तल धर्कन्छ चुलियेको हिमाऽऽचल ।
बिहोशी ऐशमा मस्त राष्ट्र झैं मदसङ्कुल ॥
६
सारा शरीरमा शीत फैलिँदामा पनी सब ।
अहो कम्पज्वराऽऽक्रान्त रोगी झैं काँप्तछन् अब ॥