२५
न जाने मौरी वा मनुज कुन हो सञ्चयगुरु?
गर्यो होला दुःखी मुफत किन यो झन्झट शुरु?
यही सत्यानाशी कठिन सरुवा रोगवश भै
सडेका छन् लाखौं विकल बिचरा मानिस सबै।।
२६
अहो कस्तो प्यारो अधम सरुवा व्याधि इनको
छुट्यो जस्ले गर्दा स्मरण मनमा रातदिनको।
जती जम्बा गर्छन् उति उति इनैको अवनति
कठै छुट्दा चोला नियतिवश होला कुन गति?।।
२७
यही अन्धो लोभी मनुजपशुबाटै बढि बढी
वृथा जम्बा गर्ने नरकमय विद्याकन पढी।
अत्यासैमा मूसा जुनिभर अँध्यारो विवरमा
गरी चीं चीं मर्छन् मनुजहरुकै खेतघरमा।।
२८
ठगी, चोरी, डाँका, हरकिसिमको झेल, बखडा,
कुटामारी, गाली, कपट, कटुता, वैर, झगडा।
घृणा, ईर्ष्या, हत्याप्रभृति जति छन् दुर्गुण कडा
सबैको मूलैमा अधम सरुवा सञ्चय खडा।।
२९
विधाताले लाखौं अमृतमय दैवी गुण सब
भरेका छन् जस्को मगजबिच, त्यै मानव अब।
फसी तृष्णारूपी विकट सुरसाको वदनमा
गयो देख्दादेख्दै अतिशय नराम्रो पतनमा।।
३०
यही जम्बा गर्ने अधम सरुवा व्याधि विकट
सरोस् वा सल्कोस् ता जलदबिच वा सूर्यनिकट।
धरित्रीको सारा मधुर रसधारा खिंचिकन
पलामा पार्नेछन् भुवन उनले भस्मभवन।।
Page:Tarun tapasi.pdf/72
Appearance
This page has not been proofread
