९
विधाता माताको स्तनयुगलमा स्तन्यरसको
भरी धारा पैले अनि जनम त्यो दिन्छ शिशुको।
विना खाने दाना धरणितलमा जन्म कसरी
कहाँ कस्ले लेला? कुन कठिनता यो हरि हरि।।
१०
किरा किर्थादेखी मनुज, पशु, पक्षीतक सब
जती जो जन्मन्छन् सकल तिनको योग्यविभव।
धरित्रीको छाती उपर पहिले नै छ खचित
अहो भोकै मर्छन् तदपि किन त्यो दुर्गतिसित?।।
११
धरित्रीमा भक्ति प्रणय अथवा जाँगर धरी
खनी, खोस्री, जोती, करचरण माटोमय गरी।
निकाली खाये त्यो अमृतमय खाना मिलिजुली
जगत् सारा बन्थ्यो अमर नगरी झैं झिलिमिली।।
१२
धरित्रिको मायाप्रणय नरदेखी कृमितक
सबै जीवाऽऽत्मामा सम छ, उसमा छैन फरक।
उनी खाना दिन्छन् रतिभर कुनै भेद नगरी
सबैलाई पुग्ने किसिमसँग त्यो लाखन थरी।।
१३
सबै प्राणी बाँच्ने किसिमसित खानाहरु दिन
नशक्ने नै होलिन् धरणि जहिले वा जुन दिन।
तुरुन्तै फुट्नेछन् उस बखत कच्चा घट सरी
हजारौं के लाखौं किसिमसित धाँजा परि परी।।
१४
सबैकी साजा छन् धरणि जननी, जीव सकल
उनैका छोरा हुन् हृदयरसमा लुब्ध चपल।
भुली मातानाता अझ सब उनै मालिक बनी
वृथा गर्छन् कोलाहल कलह मेरी भनि भनी।।
Page:Tarun tapasi.pdf/62
Appearance
This page has not been proofread
