१२
हवामा पौडन्थें, जुन मधुर सङ्गीत मुखमा
थियो, त्यस्ले तिम्रो श्रुतिविवर भर्थें म सुखमा।
कठै वासा बस्थें, विजन वनका मञ्जु रुखमा
बिरायें के मैले? किन धसिदियौ मृत्युमुखमा?।।
१३
पिताको माताको प्रणय उहिल्यै कालगतिले
बित्यो, भाई बैनीहरु सब चुँड्यो दुर्नियतिले।
थियें बाँकी यौटा फगत म कठै वंशविरुवा
सर्यो आजै मेरा उपर पनि त्यो काल सरुवा।।
१४
कलीला ती साना विकल बिचरा बाल बचरा
विना चारा भोकै सब भइशके हुन् अधमरा।
थियी साथै पोथी जुन, शिव हरे त्यो पनि अब
कतै गर्दी होली रुदन अथवा क्रन्दनरव।।
१५
दुवै भालेपोथी हरबखत पालो गरि गरी
लगी दिन्थ्यौं चारा विकल बचराको मुखभरी।
अकेली सुत्केरी अब शिव हरे दीन बिचरी
गुजारा गर्ली त्यो कसरि टुहुरा पालन गरी?।।
१६
अवस्था यो मेरो सहन अथवा खप्न नशकी
नजाने त्यो ऐले वरपर कतै मूर्छित छ कि?
मरी पो हाली वा प्रियविरहले मार्गबिचमा
पुगी वा औताई विकल बचराकै नगिचमा।।
१७
कदाचित् त्यो मेरी प्रणयपुतली व्याकुल बनी
रुँदै खोज्दै आयी वरपर भने मृत्यु नगनी।
नहाने है बाबा विकल बचरा हुर्कन दिये
वृथा अर्को चर्को शिशुमरणको पाप नलिये।।
Page:Tarun tapasi.pdf/45
Appearance
This page has not been proofread
