आएका देखिए । बढ्दै आएको बाढीले आफ्नो छाप्रो पनि घेरिसक्यो । डर, त्रास, भयको कुरा गरी साध्य भएन । शिवनारान, हाकुमाया र दुई छोराछोरी समेत चारै प्राणी ओसारामा उभिई बाढी बगिरहेको भयङ्कर दृश्य हेरीहेरीकन कोलाहल मच्चाउन थाले । आकाशबाट पानी परि नै रहेको थियो । घर्रघर्र घरहरू भत्केको आवाज पनि सुनिन थाल्यो । समुच्चा खेत जलमग्न, विष्णुमती र खेतको कुनै हद छुट्टिएको थिएन । भागेर पनि कहाँ जाने ? तपतप आँसु चुहिरहेको आँखाले एक बाजि आफ्नो खेतको चारैतिर हेरेर त्रस्त भावमा शिवनारान सोचिरहेका थिए- ‘पोहोरको समेत कुत तिर्नुपर्छ । अब तल्सिङले के गर्ने हो । उसलाई कसरी रिझाउने ?"
बाढीले असङ्ख्य माल, वस्तु, खेत, घर बगाउँदै ल्याएको देख्तादेख्तै, हेर्दाहेर्दै बाढीले आफ्नो खेत मात्र होइन, आफूहरू बसिरहेको छाप्रो समेत बगाउन थाल्यो । दुई छोराछोरी समेत शिवनारान र हाकुमायाहरू एकै डल्ला भई बाढीको भयङ्करता देखी चीत्कार गरिरहेकै थिए । कराउँदाकराउँदै गरर्र छाप्रो भत्किन थाल्यो र भँगालोको अँगालोमा बाढीले शिवनारानहरूलाई छाप्रोसमेत हरर्र बगाएर लग्यो ।
बाढीमा बग्दै मृत्युको सास फेर्दाफेर्दै शिवनारानले चिन्ता लिइरहेका थिए- ‘घरमा रहेका मेरा भाइहरूलाई यस पालिको कुतसमेतको बोझ लादिने भयो ।’
एकैछिनमा अँगालोमा बाँधिइरहेका चार प्राणी शिवनारान, हाकुमाया र दुई सन्तान लास भएर बग्दै बेपत्ता भए ।
अब तिनीहरूले तिरो तिर्न पनि ताप मान्नु पर्दैन, अनि तल्सिङले तिनीहरूलाई समात्न पनि सक्तैनन्
⬥
अष्टनारान ज्यापूको परिवार अब यस दुनियाँमा छैन । उनीहरूको नामसम्म पनि यहाँ रहँदैन । यहाँसम्म कि एघार सालको भयङ्कर बाढीको इतिहासको पानामा समेत पनि उनीहरूको नाम रहँदैन किनभने उनीहरू गरीब थिए, किसान थिए ।