हर्षनारानतिर हेरेर माहिला तामाङले फेरि भने- "छोरी केही नजानेकी सिधासाधा छ, विराएकोमा माफ गरी तालिम गर्नुहोला ।"
पुननारानले हाँसेर भने- "केही धन्दा नमान्नुहोला, हामी छोरी सम्झनेछौं ।"
बिदा भएर पुतलीहरू जान खोजे अनि रुँदै पुतलीकी आमाले भनिन्- "पर्सि आऊ त है नानी !"
पुतलीले रुँदै स्वीकृतिसूचक टाउको हल्लाइन् ।
माहिला तामाङले गहभरि आँसु गरी पुननारानसित विनीत भएर भने- "पर्सि पठाइदिनुहोला ।"
"हवस् ।" नम्रता साथ पुननारानले भने ।
हर्षनारानको घरमा नयाँ दुलहीका निम्ति सबै जना भारी उत्कण्ठासाथ बाटो पर्खिरहेका छन् ।
नयाँ दुलही घरमुनि आइपुगिन् । "ईः । डोको बोक्ने पखिनी पो रहिछ । नयाँ दुलही भएर पनि डोको बोकी हँसिया समाएर आउने गरिबकी छोरी रहिछ ।" झ्यालमा बस्ने छिमेकी आइमाईहरूबीच कुरा चल्न थाल्यो । कसैले "छिः । कस्ती ल्याएको नि, ल्याएपछि अलि गतिली त ल्याउनुपर्छ, कस्ती पखिनी ।" पनि भने ।
नयाँ दुलही गृहप्रवेश गरेको दिन भएकाले सानोतिनो रूपमा भए पनि हर्षनारानको घरमा आज भोज गरिएको थियो । भातको सट्टा चिउरा, अलिकति मासु र तीन-तीन थोक तरकारीहरू पनि थिए, जाँडरक्सी पनि केही मात्रामा थियो । यी सबैका निम्ति शिवनारानले दश रुपियाँ सापट लिनुपरेको थियो । परिवारका सबै मानिसहरूको प्रसन्नता र नाचगान, ख्यालठट्टा देखेर पुतली पनि निकै प्रसन्न र प्रभावित भइन् ।
करिब रातको दश बजिसक्यो, अलि अबेर भइसकेकाले शिवनारानले आजको रमाइलो भङ्ग गर्नुपर्यो, किनभने उनलाई खेतमा सुत्न जान निकै अबेर भइसकेको थियो ।
हर्षनारानको कोठामा आज बत्ती नभए पनि उज्यालो हाँसिरहेको छ, केही नभएर पनि परिपूर्णता देखा परिरहेछ । कोठामा गएर ढोका बन्द