सकेका आफ्ना इमानदार बाबुको वचन राख्ने काम गर, तिम्री आमा लतमायाको पनि मन्जुरी छ । सोध, तिम्री आमा त मौजुद छिन् ।"
"मेरो पिताज्यूले यस्तो अनुचित मन्जुरी कहिले पनि दिनुभएन, यो बिलकुल फुट कुरा हो । कदाचित् भुलले उहाँले वचन दिनुभएको साँच्ची हो र आमाको पनि मन्जुरी छ नै भने पनि म यस्तो कुरा कदापि समर्थन गर्दिनँ । यस्तो अनुचित कुरामा आमाबाबु कसैको पनि कुरा सुन्ने र मान्ने कमजोरी कदापि गर्दिनँ । अरूको त के साक्षात् नानीथकुंले मन्जुर गरेकी भए पनि म विरोध गरेर बिथोलिदिन्छु । त्यसैले रामबहादुरजी । तपाईंले कसैको पनि दुहाई गर्नु फजुल छ ।" शिवनारानले प्रस्ट भनिदिए ।
"शिवनारान । म तिमीलाई समय दिन्छु, राति सुत्ता अलि ठन्डा मगजले एक चोटि विचार गर र आफ्नो परिवारसँग पनि एक चोटि सल्लाह गर । अहिले मात्र होइन, तिम्रो भविष्य र तिमीहरूका सन्तानहरूको पनि सुख पाउने कुरा तिम्रो हातमा आइरहेको छ ।" केही सम्झाएर भनेको भावमा रामबहादुरले भने ।
रामबहादुरले यति भन्नासाथ शिवनारान रिसले आगो भई जुरुक्क उठेर उसको गर्दन समाउन पुगे । दुवै हातले बेसरी रामबहादुरको गर्दन ङयाँच्च समाउँदै शिवनारानले भने- "भन् साले ! अब के चाहन्छस् तँ ?"
लतमाया, हाकुमाया, नानीथकुं सब छुट्टयाउन दगुरे । उनीहरूले शिवनारानलाई तानिरहे, रामबहादुर डरले थरथरी भएर ‘ऐय्या !’ भनी कराउँदै मुस्किलसित गर्दन चलाउँदै शिवनारानको मुखतर्फ हेरेर भने- "छोड् !"
रामबहादुरको गर्दन छोड्दै शिवनारानले भने- "साले ! यस पटकलाई पनि तँलाई दया भयो, माफ भयो, जा ।"
"के त पोहोर सालको बाँकी बाली पनि आफ्नो यही पशुबलको भरमा पचाउन हिम्मत गरेको ?" दुखेको गर्दन यताउता चलाउँदै रामबहादुरले भने- "तानमा परेको तीन सय रुपियाँ के गर्छौ नि ? सुब्बासाहेबले अहिल्यै लिएर आइज भन्नुभएको छ ।"