Jump to content

Page:Ek chihan.pdf/83

From Nepali Proofreaders
Revision as of 08:00, 10 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "अत्यन्त मसिनो पानी परिरहेको छ । सब रोपाहारहरू रसले रङ्गिएर रसिला भइरहेका छन् । हाहा र हुहु गरी रोपाहारहरूले गाएको गीत मधुरताको स्वरध्वनिमा सुरिलो आलाप लिँदै आकाश गुन्जिरहेको छ ।...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

अत्यन्त मसिनो पानी परिरहेको छ । सब रोपाहारहरू रसले रङ्गिएर रसिला भइरहेका छन् । हाहा र हुहु गरी रोपाहारहरूले गाएको गीत मधुरताको स्वरध्वनिमा सुरिलो आलाप लिँदै आकाश गुन्जिरहेको छ । धरतीका रतिकहरूले गाएको गीतको गुञ्जनरूपी प्रवाहको बदला आकाशका बादलले वृष्टिदान गरी आदानप्रदानको सभ्य व्यवहार गरी रसिक बन्ने लोभ गरिरहेको देखिन्छ ।

आज शिवनारानको खेतमा धुमधाम रमाइलोसँग रोपाइँ भएको हेर्न दर्शकहरूको पनि ताँती लागेको छ । रोपाहारहरू जति मस्त भएर रोपाइँ गरिरहेका छन्, दर्शकहरू पनि उत्तिकै मस्त भएर हेरिरहेका छन् । शिवनारानको खेत खोलासँगै भएकाले आकाशको भर नपरीकन पनि पानी पुगेको र विशेषतः आफ्नो पनि मिहिनेत पुगेको हुनाले खेतमा रोपाइँ हुँदा त्यस फाँटमा अरू कसैको खेतमा पनि रोपाइँ सुरु भएको छैन । यहाँसम्म कि नेपालमा यसपालि सर्वप्रथम रोपाइँ नै शिवनारानको खेतमा हो भने पनि अत्युक्ति नहोला ।

रोपाइँमा ज्यादै आनन्द लागेको र जाँडरक्सीको सुरले गर्दा एकछिन त नानीथकुंको मनमा वज्रलेप भएर टाँसिरहेको पिर पनि उप्केर गएको भान भयो । बस, यसै बखत रोपाहारहरूलाई पानसुपारी खुवाउने निहुँमा घनिष्ठता बढाउने आशा गरी डाक्टर गोदत्तप्रसाद पनि टुप्लुक्क आइपुगे । लागछाडको रूपमा कहिलेकाहीँ अलिअलि पानी परिरहेको हुनाले गोदत्तप्रसाद छाता ओढेर आएका थिए ।

मस्तसित जाँडरक्सी खाई, नाचगान गरी रोपाइँ गर्दै आफ्नो व्यथा बिर्साई, दु:ख बिर्साउँदै अलमस्त भइरहेको बेला एकाएक पानसुपारी खुवाउन आएका डाक्टर गोदत्तप्रसादलाई देखेर नानीथकुंको निदाउन खोजिसकेको व्यथा एक चोटि फेरि जागेर आयो ।

डाक्टर गोदत्तप्रसादलाई देख्नासाथ शिवनारानलाई रोपाइँको मस्तीमा पनि झसङ्ग रिस उठिसकेको थियो, तर तत्क्षणै उनलाई सभ्यताको पनि याद भएर आयो र केही वास्ता गरेनन् ।

डाक्टर गोदत्तप्रसाद पानसुपारी खुवाउन आएको देखेर अरू खेतालाहरूको हर्षको सीमै भएन । त्यत्रा डाक्टरले पानसुपारी खुवाउन