खल्तीबाट एउटा मुद्रित कागज निकाल्दै रामबहादुरले भने- "यो तान चलाउने काइदा यसमा प्रस्ट बुझिने गरी लेखिएको छ ।"
नानीथकुंले एक चोटि कागजप्रति पुलुक्क हेरिन्, लतमायाले बिलकुलै दृष्टिपात गरिनन् ।
त्यति भनेपछि रामबहादुरले भरियाहरूप्रति हेरेर भने- "लौ जाओ तिमीहरू, सुब्बासाहेबकहाँ गएर ज्याला लेओ ।"
भरियाहरू फर्कन नपाउँदै लतमायाले रामबहादुरतिर हेरेर भनिन्- "साहेब ! तान पनि फर्काइदिनुहोला ।"
"किन ? हिजो हुन्छ, ल्याइदिनोस् भनेर आज एक्कासि यस्तो कुरा ?" आश्चर्यका साथै शङ्कालाग्दो भावमा रामबहादुरले भने ।
"आफ्नो तान छँदै छ, बिनसित्ति अर्कालाई दुःख दिनु ठीक छैन भन्ने छोराहरूको भनाइ छ ।" लतमायाले भनिन् ।
"समय किफायत भएर कमाउन सजिलो हुने कुरामा मद्दत दिएको पनि नलिनू ? ठुलठुला सामन्तले त मद्दत लिनुपर्छ भने तिमी-हामी जस्ताको तुजुक अझ कति दिन टिक्न सक्ला ?" रामबहादुरले भने ।
"त्यसो त अहम् भावका कारण छोराहरूले ‘मद्दत लिन्नँ’ भनेका होइनन्, धेरैजसो मद्दतगारहरूले मद्दतको बाटो गरी मद्दत लिनेहरूको जिन्दगीमा हमला गरेर डराएका मात्रै हुन् ।" लतमायाले भनिन् ।
"हाम्रा सुब्बासाहेब त्यस कोटिका मानिस हुनुहुन्न । उहाँले त तिमीहरूलाई मद्दत गर्न धर्म देखेर साथसाथै अनिवार्य पनि भएको हुनाले मात्र मद्दत दिन खोज्नुभएको हो ।" रामबहादुरले आफन्ती भावमा भने ।
"उहाँलाई किन हाम्रो सहायक हुन कर्तव्य भएको ?" लतमायाले सोधिन् ।
"ल, तिमीलाई थाहै होला नि । ‘आफन्त’ भन्ने नै चाहिन्न । ‘सम्बन्ध’ भनेको केही कुरा होइन भन्न मानिसले सक्ला ? त्यसैले आफूले सकेको सहायता उहाँले दिन खोज्नुभयो ।" रामबहादुरले भने ।
"तपाईंको भनाइ मैले केही पनि बुझ्न सकिनँ ।"
"त्यसो भए उता हिँड, म तिमीलाई बुझाइदिउँला ।"