This page has not been proofread
(४०)
लाल गाला कठै !! खालि छाला-शेष हुँदै गयो
तालुमा दन्तमालाले ज्वाला नै बेसरी दियो
(४१)
म यौटा छु हजारौँ ती झम्टँदा छन् वरीपरी
ढाडिएको गँड्यौलामा विषालु कमिलासरी
(४२)
हाल-बाला भई टाला जम्मा पारी धुवाँ दिँदा
कुइरोमा कराएर घुमेका कागझैँ हुँदा
(४३)
धीरे धीरे झरे फेरी तरी धुम-महोदधि
घोर सागर नाघेर वीर गोराहरू सरी ॥
(४४)
त्यो वेला म थिएँ मानू निर्धो निर्बुद्धि भारत
तिनी थिए डच, फ्रेन्च, पोर्चुगीज र इङ्लिश
(४५)
भोका ती रक्तका प्यासा ब्वाँसा-तुल्य बलीकन ।
नरमी चालले थाले सुस्तसुस्तै कन्याउन
(४६)
भरौँला पेटको थैलो मरौँला अथवा भनी
सबै हाँहाँ दिँदै दौडे बडा आहारिसे बनी