१२
हवामा पौडन्थेँ, जुन मधुर सङ्गीत मुखमा
थियो, त्यस्ले तिम्रो श्रुतिविवर भर्थें म सुखमा ।
कठै ! वासा बस्थेँ, विजन वनका मञ्जु रुखमा
बिरायेँ के मैले ? किन धसिदियौ मृत्यु-मुखमा ?
१३
पिताको माताको प्रणय उहिल्यै कालगतिले
बित्यो, भाई बैनीहरु सब चुँड्यो दुर्नियतिले ।
थियेँ बाँकी यौटा फगत म कठै वंश-विरुवा
सर्यो आजै मेरा उपर पनि त्यो काल सरुवा ॥
१४
कलीला ती साना विकल बिचरा बाल बचरा
विना चारा भोकै सब भइशके हुन् अधमरा ।
थियी साथै पोथी जुन, शिव हरे ! त्यो पनि अब
कतै गर्दी होली रुदन अथवा क्रन्दन-रव ॥
१५
दुवै भाले-पोथी हरबखत पालो गरि गरी
लगी दिन्थ्यौँ चारा विकल बचराको मुखभरी ।
अकेली सुत्केरी अब शिव हरे ! दीन बिचरी !
गुजारा गर्ली त्यो कसरि टुहुरा पालन गरी ?
१६
अवस्था यो मेरो सहन अथवा खप्न नशकी
नजाने त्यो ऐले वरपर कतै मूर्छित छ कि ?
मरी पो हाली वा प्रिय-विरहले मार्गबिचमा
पुगी वा औताई विकल बचराकै नगिचमा ॥
१७
कदाचित् त्यो मेरी प्रणय-पुतली व्याकुल बनी
रुँदै खोज्दै आयी वरपर भने मृत्यु नगनी ।
नहाने है बाबा ! विकल बचरा हुर्कन दिये
वृथा अर्को चर्को शिशु-मरणको पाप नलिये ॥
Page:Tarun tapasi.pdf/45
Appearance
This page has been proofread
