Jump to content

Page:Ek chihan.pdf/111

From Nepali Proofreaders
Revision as of 22:12, 22 June 2025 by Rbn (talk | contribs)
This page has not been proofread
उनन्तिस

सबैलाई होसियारीको चेतावनी दिँदै नानीथकुंलाई घरमै छोडेर खेतमा काम गर्न जाने अनुकूल मिलाएका शिव नारान एक्लै त्यति बेलै खेततिर दौडे ।

रातभरिको छर्लङ्ग अनिद्रामा शिव नारानले नानीथकुंको बारेमा निक्कै चिन्ता गरे, नाना सोचविचार गरे । अब नानीथकुंलाई झट्ट एउटा सुपात्रसित बिहे गरेर नदिई यसै राखिछोड्नु उनले ठीक ठानेनन् । यसैले आफैले नानीथकुंलाई एउटा सुयोग्य वर खोजी गरेर पनि दुई–चार दिनमै विवाह गरी निश्चिन्त हुनुपर्यो । रातभरि नानीथकुंका बारेमा यस्तै केके, अनेक सोचविचार शिव नारानले गरेका थिए ।

यही फिक्रीको फेरमा दौडादौड गरी शिव नारानले एक हप्ताभित्रै नानीथकुंलाई एउटा सुयोग्य वर फेला पनि पारे। दुलाहा हुने केटो म्याट्रिक पास पनि भएको, एउटा मौजाको जिमिदार पनि, उमेर मिल्दो नै थियो । सबभन्दा हर्षको कुरा आफ्ना बाबु अष्टनारान र आफूहरूको पनि विचार र सिद्धान्त अनुसार केटो मधेसी थियो । प्रायः चाहिँदा गुनहरूले परिपूर्ण भएको मधेसी केटो पाएको र आफ्नो र तराईका मधेसी जातिसित वैवाहिक सम्बन्ध जोडिन पुग्ने कुराले शिव नारान चौप‌ट्टै सन्तुष्ट र प्रफुल्लित भए । नेवार, पर्वते, मधेसी यी तीनै जाति र संस्कृतिको मेल झन् आफ्नै घरमा हुन लागेकोमा शिव नारान अत्यधिक खुसी भए । किनभने यी तीन जाति र संस्कृतिको समन्वय वा स्थापना नभईकन नेपालको उन्नति हुँदै हुँदैन भन्ने उनलाई विश्वास थियो ।