Jump to content

Page:Ek chihan.pdf/109

From Nepali Proofreaders
Revision as of 22:12, 22 June 2025 by Rbn (talk | contribs)
This page has not been proofread

हर्ष नारानतिर हेरेर माहिला तामाङले फेरि भने– "छोरी केही नजानेकी सिधासाधा छ, विराएकोमा माफ गरी तालिम गर्नुहोला ।"

पुन नारानले हाँसेर भने– "केही धन्दा नमान्नुहोला, हामी छोरी सम्झनेछौं ।"

बिदा भएर पुतलीहरू जान खोजे अनि रुँदै पुतलीकी आमाले भनिन्– "पर्सि आऊ त है नानी !"

पुतलीले रुँदै स्वीकृतिसूचक टाउको हल्लाइन् ।

माहिला तामाङले गहभरि आँसु गरी पुन नारानसित विनीत भएर भने– "पर्सि पठाइदिनुहोला ।"

"हवस् ।" नम्रता साथ पुन नारानले भने ।

हर्ष नारानको घरमा नयाँ दुलहीका निम्ति सबै जना भारी उत्कण्ठा साथ बाटो पर्खिरहेका छन् ।

नयाँ दुलही घरमुनि आइपुगिन् । "ईः । डोको बोक्ने पखिनी पो रहिछ । नयाँ दुलही भएर पनि डोको बोकी हँसिया समाएर आउने गरिबकी छोरी रहिछ ।" झ्यालमा बस्ने छिमेकी आइमाईहरूबीच कुरा चल्न थाल्यो । कसैले "छिः । कस्ती ल्याएको नि, ल्याएपछि अलि गतिली त ल्याउनुपर्छ, कस्ती पखिनी ।" पनि भने ।

नयाँ दुलही गृहप्रवेश गरेको दिन भएकाले सानोतिनो रूपमा भए पनि हर्ष नारानको घरमा आज भोज गरिएको थियो । भातको सट्टा चिउरा, अलिकति मासु र तीन–तीन थोक तरकारीहरू पनि थिए, जाँडरक्सी पनि केही मात्रामा थियो । यी सबैका निम्ति शिव नारानले दश रुपियाँ सापट लिनुपरेको थियो । परिवारका सबै मानिसहरूको प्रसन्नता र नाचगान, ख्यालठट्टा देखेर पुतली पनि निकै प्रसन्न र प्रभावित भइन् ।

करिब रातको दश बजिसक्यो, अलि अबेर भइसकेकाले शिव नारानले आजको रमाइलो भङ्ग गर्नुपर्यो, किनभने उनलाई खेतमा सुत्न जान निकै अबेर भइसकेको थियो ।

हर्ष नारानको कोठामा आज बत्ती नभए पनि उज्यालो हाँसिरहेको छ, केही नभएर पनि परिपूर्णता देखा परिरहेछ । कोठामा गएर ढोका बन्द