"कसले भनेर ल्याइस् तान ! हामीले 'ल्याइदे' भनेर हात जोडेका थिएनौँ । लैजा तानको तानै खाँचो परेको छैन त्यसको पैसा तिरिरहन ।" शिव नारानले कड्केर भने ।
रामबहादुरसँग यति बोलिसकेपछि शिव नारानले लतमायातिर हेरेर भने– "दिएर पठाइदिनोस् उसको तान ।"
शिव नारानले फेरि रामबहादुरतिर हेरेर भने– "लैजा तेरो तानको तानै, तँ पाजीहरूको तानको खाँचो परेको छैन हामीलाई !"
रामबहादुरको बेबकुफी देखेर हाकुमायालाई पनि साह्रै झोंक चल्यो, मारिहालूँजस्तो उनलाई भयो । त्यसैले शिव नारानले उसको तान दिइ पठाउने कुरा गरेपछि हाकुमायाले भनिन्– "के खाँचो त्यस बदमासलाई तान बोकाएर पठाइरहन ! त्यस बदमासलाई, बेबकुफलाई, के उसको बेबकुफीको पुरस्कार– स्वरूप तान दिने मूर्खता हामीले गर्ने ? दियो लियौं, फेरि फर्काइरहने मूर्खता किन ?" रामबहादुरतिर हेरेर हाकुमायाले भनिन्– "जा, पच भयो तेरो तान ! कागज भएको होइन, 'जस्तालाई त्यस्तै ढिँडोलाई निस्तै । तँ बदमाससित हामीले किन भलादमी हुनुपरेको छ ! यही तँलाई दण्ड भयो । जा, पच भयो तेरो तान, नालिस गर्न जा ।"
हाकुमायाको कुरा सुनेर नानीथकुँ खिस्स हाँसिन् । लतमाया केही बोल्न सकिनन् । शिव नारान पछाडितिर हेरेर आफ्नी स्वास्नीको साहस देखी हाँसिरहे । रामबहादुर एक शब्द बोल्न सकेनन्, ढुङ्गाको मूर्ति उभिएर त्यसै जिल्ल परिरहे । एकछिन वाल्ल परेर 'देखा जाएगा' भनी रिसले चुर भएर गए । "देखा जाएगा भने देखा जाएगा ! लौ जा, के गर्लास् तैंले ?" हाकुमायाले जबाफ दिइन् ।