मार्छू निश्चय कार्तवीर्य भनि खुप् ठूलो इरादा गरी ।
पढ्थ्या श्रीशिव थ्यैं गया परशुराम् दिन् दिन् चरण्मा परी ॥
पढ्थिन् पार्वति राम्गिता तहिं सुनी पाठ् गर्न लागी गया ।
राम्गिता तहिं देखि पाठ् गरि लिया नारायणै ती भया ॥१८॥
मैह्ना दिन् यहि राम्गिता पढि लिया सब् ब्रह्महत्याहरू ।
छुट्छन् ता अरु छुट्तछन् सकल पाप् भन्न्या बखान् क्या गरू ॥
शालग्राम् तुलसी पिपल् कि त बडा संन्यासि थ्यैं जो गई ।
राम्गीता कन पाठ् गर्यो पनि भन्या ठूलो महात्मा भई ॥१९॥
जुन् फल् छन् मुखले भनी नसकिन्या सो फल् ति भोग् गर्दछन् ।
कोही श्राद्ध विषे पढुन् त तिनका पितृ सबै तर्दछन् ॥
पैल्हे खूप नियम् गरी दशमिमा एकादशीमा पनी ।
आसन् बाँधि अगस्ति वृक्ष मनि पाठ् गर्छू म गीता भनी ॥२०॥
राम्गीता उपवास् गरी कन बहुत् आदर् गरी पढ्छ जो ।
तेस्लाई त न भन्नु मानिस भनी रामै सरीको छ त्यो ॥
दान् ध्यान् तीर्थ कदापि केहि न गरी यै रामगीता पढी ।
बस्छन् जो ति अनन्तका पदविमा जान्छन् सहज् पार् तरी ॥२१॥
धेरै बात गरेर हुन्छ अब क्या रामायणै हो जबर् ।
पाप् हर्ना कन छैन केहि बुझियो येसै सरीको अबर् ॥
जो छन् तन्त्र पुराण् श्रुति स्मृति इ ता सोह्रै कलामा पनी ।
पुग्दैनन् त बखान् कहाँ तक गरूँ यो फेरि ठूलो भनी ॥२२॥
जो रामायणको महात्म्य विधिले नारद्जिलाई कह्या ।
जुन् सूनी कन चित्तले बुझि लिंदा नारद् पनी खुस् भया ॥
पाठ् गर्छन् कि त सुन्दछन् यति भन्या यो येति सुन्दा पनि ।
जान्छन् सब् उहि विष्णुका पुरिमहाँ खुप् पूज्य सब्का बनी ॥२३॥
Page:Bhanubhaktako ramayan.pdf/15
Appearance
This page has been proofread
