This page has not been proofread
७
दुर्भाग्यचक्रले तुल्य शरीरै चर्चरी चिरी ।
हावा शिशिरको घुम्छ लगातार सिरीसिरी ॥
८
हिमका बहुतै साना परमाणु हवाभरी ।
मिलेका छन् करौंतीका तीखा दन्तशिखासरी ॥
९
हुर्रहुर्र चिसो हावा हुर्हुरायेर आउँछ ।
जुरुङ्ग भै सबै अङ्ग उसले जुर्जुराउँछ ॥
१०
रोमाञ्च शिशिरैमा झैं सर्वदा उठने भये ।
सब मानिस दुम्सी झैं काँटादार हुने थिये ॥
११
कडा बतासले जाडो जागेको छ घरीघरी ।
जनसङ्गतिले कच्चा योगीको वासनासरी ॥
१२
भूकम्पकालको रङ्ग पापी शिशिर ल्याउँछ ।
बस्ताबस्तै पनी तेसै देह यो डग्डगाउँछ ॥
१३
हात अत्यन्त आत्तिन्छन्, खुट्टा हुन्छन् लुटूपुटू ।
अघिको आफनू चाल छोडिदिन्छ कठै मुटू ॥
१४
घर्केका हिमका थुम्का खस्छन् शब्द ठुलो गरी ।
भूकम्पकालमा अग्ला कौसी बुर्जाहरूसरी ॥
१५
आयो शिशिरभैंचालो कमाई लोक थर्थरी ।
सफा सुघरका गाला चिरिये सब चर्चरी ?