Jump to content

Page:Ek chihan.pdf/79

From Nepali Proofreaders
Revision as of 20:00, 20 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

रहनोस् !

दिनहुँ डाक्टर आएर कोठामा ख्यालठट्टा, नाचगान गरेर जान्छ, तपाईं छोरीलाई कपाल दुखेको निको होस् भनी यहाँ बसीबसी द्यौता भाकल गरिरहनोस् । हिजो पनि यहाँबाट ओर्लिरहेको देखें, आज आउँदा पनि फर्कि रहेको भेट्टाएँ । कस्तो चाला हो यो ? म त बाँकी राख्तिनँ । आज म त जात्रा नदेखाईकन छोड्दिनँ ।" अग्नि शर्मा भएर शिवनारानले भने ।

सधैं रात परेपछि आउने छोरो आज यसरी सबेरै आएर एकाएक यस्तरी रिसाउन थालेकाले लतमाया जिल्ल परी मुख बिगारेर तान पनि नचलाईकन त्यसै बसेको बस्यै गरिरहिन् । उनी केही पनि बोलिनन् ।

लतमायालाई तानमा त्यसै बसिरहेको देखेर झन् रिसाएर शिवनारानले भने- "छोरीले पट्ठा खेलाइरहेको कुरा तपाईंलाई मिठो लाग्छ कि क्या हो ? पट्ठा भए पनि एउटा कुरा, पट्ठासित पट्ठी खेली भनेर सन्तोष पनि गर्न सकिएला, तीनतीन छोराछोरीका बाबु, अर्काका पोइसित त्यसरी खेलिरहन लाज छैन रे त्यसलाई ? सरम छैन ? बोलाउनोस् त्यस नकचरीलाई, आज पूजा नगरी छाड्दिनँ ! बाबु मरेको छ महिना भएको छैन, उसको यो लीला !"

"भैगो, नकरा बाबू ! अरूले सुन्लान् । म उसलाई राम्ररी सम्झाएर ठीक गर्नेछु ।" सान्त्वनापूर्ण भावमा लतमायाले भनिन् ।

"अरूले सुन्ला ? अरूले सुन्ला, थाहा पाउला र नराम्रो होला भन्ने डर मान्ने भए यस्तो नकाम गरिएला ? अझसम्म अरूले थाहा पाएको छैन भनी ढुक्क भइरहनुभएको तपाईं ? अरूले सुन्ला र थाहा पाउला भन्ने तपाईंलाई डर ? अरूबाट नै मैले थाहा पाएको हुँ अब फेरि अरूले सुन्ला, थाहा पाउला भन्ठान्नुभएको ?" रिसको आवेशमा शिवनारानले भने ।

‘योसित अहिले नबोल्नु बेस’ भन्ने विचार गरी लतमाया चुप लागिन् । शिवनारान रिसमा वेद पढी नै रहेका थिए। रिसाउँदारिसाउँदै ‘आज म छ्यास्नसम्म नछ्यासी छोड्दिनँ’ भन्ने विचार गरी नानीथकुंलाई शिवनारानले नै बोलाए । दुई-तीन बोलावटसम्मलाई नानीथकुंले वास्तै नगरीकन सुन्यानसुन्यै गरेकी थिइन् तर लगातार बोलाइरहेपछि केही सिप नलागेर नानीथकुं डराई डराईकन कपाल दुखेको स्वाङ गर्दै माथि आइन् । नानीथकुं तानकोठामा पुग्नासाथै शिवनारानले एटम बम छोडिहाले- "क्या हो, क्या हो यो ? डाक्टर गोदत्तप्रसाद दिनदिनै किन आइरहेको, किन आउँछ, त्यो दिनदिनै ?"

"म के थाहा पाऊँ ?" बडो साहस गरेर नानीथकुंले भनिन् ।